मुख्य समाचार

प्रधानमन्त्री ओलीद्धारा मन्त्रालयको कार्यप्रगति बारे समीक्षा

प्रधानमन्त्री ओलीद्धारा मन्त्रालयको कार्यप्रगति बारे समीक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको कार्यप्रगति तथा आगामी योजनाबारे समीक्षा सुरु गरेका छन् ।


सरकार तथा मन्त्रालयको काम कारबाहीलाई लिएर चौतर्फी आलोचना सुरु भएपछि प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर कार्य प्रगति बारे समीक्षा सुरु गरेका हुन् ।

समीक्षा बैठकको पहिलो दिन बुधबार विभिन्न ६ वटा मन्त्रालयको कामकारबाहीबारे समीक्षा भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 


बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास, उर्जा, कृषि र उद्योग मन्त्रालयका साथै पुनर्निर्माण प्राधिकरणको चौमासिक समीक्षा गरिएको हो ।

प्रधानमन्त्री ओलीले  बजेट र नीति कार्यक्रममा भएका कार्यक्रमलाइ छिटो कार्यान्वयनमा लैजाने र चालु आर्थिक वर्षको प्रथम चौमासमा रोकिएका पूरा हुन नसकेका उद्धेश्यहरु समेत अर्को चौमासिकमा पूरा गर्ने गरी निर्देशन दिएका छन् । यस्तै  समीक्षा पछि मन्त्रालयका कामलाई ‘रेटिङ’ गरिने बताइएको छ । 


तीन दिनसम्म चल्ने समीक्षाबाट काममा के–के समस्या छन्, सो समस्या पत्ता लगाउने र थप कार्ययोजना तयार गरिने भएको छ । 

प्रधानमन्त्री कार्यालयले विगतका प्रतिबद्धता र चार महिने अवधिको प्रगति विवरण भरेपछि कामको तथ्यांक निस्कने सफ्टवेयर व्यवस्था समेत गरेको छ । त्यसैका आधारमा मन्त्रालयको कार्यप्रगति मूल्यांकन हुने छ । साउनदेखि नै महिनैपिच्छे समीक्षा गर्ने भनिए पनि सफ्टवेयरमा असोजदेखि मात्र विवरण भर्न थालिएको थियो । 


 बजेटको पहिलो दुई महिनाको समीक्षामा करीब ७ प्रतिशत विकास बजेट खर्च भएको मूल्यांकन गरिएको थियो । जेठ १५ मा बजेट आए पनि अपेक्षित खर्च हुन सकेको छैन । त्यसैले बजेट खर्चको अनुपातको पनि समीक्षा हुनेछ । बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरुले मन्त्रालयको चौमासिक प्रगति पेस गरेका थिए । समिक्षा शुक्रबारसम्म चल्ने छ ।

 

विशेष