विचार

फरक कुटनीतिक शिल्पका भारतीय राजदूत

फरक कुटनीतिक शिल्पका भारतीय राजदूत

नेपालआज । सन् २००८ अप्रिल २५ देखि २०११ अगस्ट ११ सम्म नेपालमा भारतका लागि राजदूत राकेश सुदले कार्यभार सम्हाले । 

केही घटनाका कारण उनी विवादमा परे । त्यसपछि सन् २०११ अगस्ट २५ देखि जयन्तप्रसाद नेपालमा राजदूत भएर आए । जयन्तप्रसादको शैली र व्यक्तित्वले नेपालमा प्रशंसा पायो । तर त्यसपछि सन् २०१३ नोभेम्बरमा आएका रञ्जित रे विवादित मात्रै भएनन् आलोचित पनि भए । 

 

मार्च २५, २०१७ देखि नेपालका लागि भारतीय राजदूतका रुपमा कार्यभार सम्हालेका मञ्जिभ सिंह पुरीको शैली फरक पाइएको छ । पछिल्ला चार राजदूतहरुमा शैलीको दृष्टिले उतारचढावपूर्ण पाइन्छ । 

 

सामान्यतः सार्वजनिक समारोहहरुमा गएर नबोल्ने, नेपालका राजनीतिक दलहरुमा बढी चासो नदिने, कुटनीतिमा कुशलता प्रदर्शन गर्न सक्ने कुटनीतिज्ञको रुपमा भारतमा पुरीको मूल्यांकन हुने गरेको छ । 

 

उनी नेपाल आउनु अघि ब्रसेल्समा भारतका लागि राजदूत थिए । ब्रसेल्समा २०१४ देखि २०१७ सम्म काम गरेपछि नेपाल आएका हुन् । 

 

राजदूत पुरीको नेपाल बसाई २० महिना पूरा भइसकेको छ । यो अवधिमा यी राजदूत नेपालमा कुनै विवादमा परेका छैनन् । उनका कुनै स्टेटमेन्ट, विज्ञप्ति, विचारहरुले नेपालमा नकारात्मक प्रतिक्रिया पाएको छैनन् । 

 

बेला बेला नेपालका नेताहरुले भारतले नेपालमा माइक्रोमेनेजमेन्ट गर्न खोजेको आरोप पनि लगाउँदै आएका छन् । यस्तो आरोप लाग्नुमा नेपालमा रहेका भारतीय राजदूतको पनि भूमिका हो भन्ने गरिन्छ । माइक्रोमेनेजमेन्टको विषयले नेपाली राजनीतिमा प्रवेश पाइरहँदा राजदूत पुरीको २० महिने अवधि त्यो प्रकरणबाट मुक्त छ । 

 

संयुक्त राष्ट्र संघको पञ्चशील शिद्धान्तमा पनि एक देशले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अर्थात ‘अहस्तक्षेप’लाई अंगीकार गरेको छ । केही जानकारहरुले राजदूत पुरीको शैली हस्तक्षेपमा भन्दा व्यापारमा बढी केन्द्रीत रहेको विश्वास गर्छन् । एक अर्को देशको मामिलामा नचाहिँदो मतलव राखिरहनु भन्दा विकास र व्यापारमा सहकार्य गर्न सक्दा दुवै मुलुकको हित हुन्छ । 

 

राजदूत पुरी विवाद हुन सक्ने कुनै पनि कार्यक्रममा सहभागी नै हुँदैनन् । पुरीलाई अतिथिका रुपमा निम्तो दिने धेरै संस्थाहरु हुन्छन् । तर ती मध्ये नगण्यमा मात्रै पुरी देखा पर्छन् । सामान्यतः राजदूत पुरी मिडियामा समेत अति कम देखा पर्छन् । विवादास्पद व्यक्तिहरुसँग पनि उनको भेटघाट भएको देखिन्न । विवादबाट टाढै बस्न रुचाउने राजदूत पुरीको शैली हुन सक्छ । 

 

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिलो’ भन्ने नीति छ । यो नीति लागू गर्नका लागि विशेष रुपले नै पुरीलाई नेपालको राजदूत बनाइएको बताइन्छ । व्यक्तिगत व्यवहारमा नम्रता र शालिनता भएका पुरीको अभिव्यक्ति विवादमुक्त नै देखिन्छन् । 

 

नेपाल र भारतबीचको राजनीतिक सम्बन्धलाई मजबुत बनाउने यिनले मुख्य जिम्मेवारी पाएको र भारतीय प्रधानमन्त्रीको नीति  सफल बनाउन पनि उनलाई खटाएको बताइन्छ । 

 

जानकारहरुका अनुसार रञ्जित रे आफनै देशका प्रधानमन्त्रीका विपक्षका थिए । उनी साउथ ब्लकबाट नियुक्त भएर नेपाल आएका थिए । तर पुरी सोझै प्रधानमन्त्रीको कार्यालयबाट पठाइएका व्यक्ति हुन् । 
 

 

नेपालमा अमेरिकन र युरोपेली युनियनलाई ब्यालेन्स गर्न गाह्रो भयो भन्ने लागेपछि भारतले पुरीलाई नेपाल पठाइएको बताइन्छ ।  
 

व्यवस्थापनमा स्नातकोत्तर गरेका पुरी सन् २०११ देखि २०१२ सम भारतको सुरक्षा परिषद्को वरिष्ठ सदस्य थिए । त्यो दृष्टिले यिनी भारतको सुुरक्षा संवेदनशीलतामा जानकार छन् भन्न सकिन्छ ।

 

नेपाल भारतबीचको खुला सीमाका कारण भारतले आफ्नो देशको सुरक्षा संवेदनशीलतामा चासो राख्दै आएको छ । खुला सीमाकै कारण भारतीरबाट अपराधीहरु आएर नेपाली नागरिकको हत्या गर्दै भारत तिरै भाग्ने गरेका घटनाहरु भइरहेका छन् । 

 

नेपालमा अपराध गरेर भारतमा लुक्न जाने र भारतमा अपराध गरेर नेपालमा लुक्ने प्रवृत्ति पनि छ । क्रस बोर्डर सुरक्षाको मामिला सधै पेचिलो नै बन्ने गरेको छ । 
 

 

खुला सीमा र सुरक्षाका विषयमा नेपाल र भारतबीच सघन वार्ता हुन आवश्यक छ । सुरक्षामामिलामा समेत जानकार पुरी नेपालको राजदूत भइरहँदा यी विषयमा छलफल गर्नु दुवै मुलुकका लागि लाभदायक हुन सक्छ । 

 

आकार र जनसंख्यामा नेपाल भन्दा भारत विशाल छ । भारतसँग नेपालका विभिन्न सन्धि सम्झौता पनि भएका छन् । त्यस्ता सन्धि सम्झौताहरु समयानुकुल पुनरावलोकन हुनु पर्ने माग नेपालले राख्दै आएको छ । यस सम्बन्धमा प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई हस्तान्तरण हुँदैछ । 

 

भद्र कुटनीति अपनाउँदै आएका राजदूत पुरीको नेपाल कार्यकालकै बेला ऐतिहासिक महत्व राख्ने सन्धिहरु पुनरावलोकन होलान् त ? प्रतीक्षाकै विषय बनेको छ । 

–टिप्पणी 

विशेष