मुख्य समाचार

पर्यटनमन्त्री अधिकारीको स्पष्टीकरण :आफू मन्त्री हुँदा वाइडबडी विमान खरिद प्रक्रिया पूरा भइसकेको थियो 

पर्यटनमन्त्री अधिकारीको स्पष्टीकरण :आफू मन्त्री हुँदा वाइडबडी विमान खरिद प्रक्रिया पूरा भइसकेको थियो 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । 

 

 

शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अधिकारीले आफू मन्त्री हुँदा उक्त विमान खरिद प्रक्रिया पूरा भइसकेकोले त्यसमा आफ्नो संलग्नता नभएको बताए । 

 

 

समिति बैठकमा सांसदहरुले वाइडबडी विमान खरिदका सम्बन्धमा ठूलो आर्थिक अनियमितता भएको आशंका गर्दै प्रश्न उठाएका थिए । नेकपाका सांसद भीम रावलले वाइडबडी विमान आएको तर त्यो किनेर ल्याएको हो कि भाडामा ल्याएको हो भन्ने प्रष्ट नभएकाले खरिद गरेको प्रमाणपत्र नै उपलब्ध हुनुपर्ने माग गरेका थिए ।

 

 

मन्त्री अधिकारीले विमान खरिदसम्बन्धी उठेका प्रश्नबारे समितिले उपसमिति बनाएर छानबिन गरोस् भन्ने आफनो समेत इच्छा रहेको बताए । उनले समितिलाई छानबिन गर्न आफूले सबै कागजात उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपाल वायुसेवा निगमको भविष्य राम्रो छ । त्यसभित्रको कमीकमजोरीलाई लिएर झन् कमजोर पार्ने विषयमा मेरो सहमति नहुने । निगममा विकृति छ त्यसलाई सुधारन आफू लाग्ने , उनले भने । 

 

 

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव एवम् नेपाल वायु सेवा निगमका अध्यक्ष कृष्णप्रसाद देवकोटाले वाइडबडी विमान खरिद प्रक्रियामा असर नपर्ने गरी छानबिनका लागि समितिलाई आवश्यक पर्ने सबै आवश्यक कागजात उपलब्ध गराउने बताए ।

 

 

बैठकमा कांग्रेस सांसद सुजाता कोइराला, दिव्यमणि राज भण्डारी, प्रकाशमान सिंह, डा। नारायण खड्का, नेकपा सांसद अग्नि सापकोटा, सांसद नारदमुनी रानालगायतले उपसमिति गठन गरी विस्तृत छानबिन हुनुपर्ने धारणा राखेका थिए ।
 

विशेष