मुख्य समाचार

सिरहामा बस दुर्घटनाः  ३ को मृत्यु, ४० बढी यात्रु घाइते 

सिरहामा बस दुर्घटनाः  ३ को मृत्यु, ४० बढी यात्रु घाइते 

लहान । सुदूरपश्चिमको डडेल्धुरामा भएको दुर्घटना सेलाउन नपाउँदै सिरहामा पनि बस दुर्घटना भएको छ ।

 

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । योसँगै सो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । 

 


घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका–९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए । 

 

 

साहको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

 

 

उक्त घटनामा यसअघि सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको थियो । 

 

 

सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पूर्णिमा स्नान अर्थात् भूतमेला भर्न सर्लाहीबाट आएका तीर्थालु चढेको ना४ख ४८२५ नंको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३९४० नंको मिनी ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

 

 

सो दुर्घटनामा परी ४० भन्दा बढी यात्रु घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्था रहेका तीन जनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

 

 

यस्तै, शुक्रबार बिहान दार्चुलामा पनि मिनि बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

बस दुर्घटना लहान

विशेष