‘फिल्म लेखेको पैसा माग्दा गुुण्डा पठाउने निर्माता पनि थिए ’
काठमाडौं । फिल्म नहेर्ने सायदै कोही छैन । वर्षौं या महिनौं लागेर फिल्म बन्छ तर फिल्मको सम्पूर्ण श्रेय पर्दामा देखिने हिरो या हिरोइनलाई दिने दर्शकको यहाँ कमी छैन । कुनै समय यतिसम्म हुन्थ्यो कि, फिल्ममा बजेको गीत पनि हिरो या हिरोइनले गाएको भनिन्थ्यो ।
एउटा फिल्म बनाउन पर्दापछाडि धेरैको हात हुन्छ । पछिल्लो समय कसले चोर्यो मेरो मन, चंगा चेट, झ्यानाकुटी, पञ्चेबाजा, कृ जस्ता फिल्म सार्वधिक दर्शकले रुचाए । ति सबै फिल्मका ‘स्क्रिप्ट राइटर’ अथवा पर्दा पछाडिका हिरो हुुन् प्रदीप भारद्वाज । जो विगत १५ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा छन् । भारद्वाज आफूूलाई नेपालको एकमात्र व्यवसायिक स्क्रिप्ट लेखक मान्छन् । किनभने उनको कुुनै पनि ‘साइड बिजनेस’ छैन । उनले आफ्नो सम्पूर्ण समय स्क्रिप्ट लेखनमा नै दिएका छन् । नेपालकै ‘हाइ पेड’ स्क्रिप्ट राइटर मानिने भारद्वाज निर्माता निर्देशकको रोजाइमा छन् ।
सुनसरीमा जन्मिएका भारद्वाजको बच्चादेखि नै लेखनमा रुचि थियो । बेला बेलामा उनी कथा, कविता लेखिरहेका हुन्थे । पछि क्यारियर छान्ने समयमा पनि उनी आफूलाई लेखनमै जम्न सक्छु भन्ने लाग्यो । अन्तत लेखनको रुचिलाई उनले निरन्तरता दिँदै गए । जसकारण फिल्म क्षेत्रमा आउनु पहिला नै उनीसँग ७०, ८० वटा जति फिल्मको स्क्रिप्ट तयार थियो । पछिल्लो समय रिलिज भएको फिल्म ‘चंगा चेट’ पनि भारद्वाजको १५ वर्ष अघिको स्क्रिप्ट हो । हाल उनी ‘वीर विक्रम २’ को काममा व्यस्त छन् ।
पटकथा लेख्ने बाहेक अन्य काम नगर्ने हुँदा उनी ढुक्कले भन्छन्, ‘वर्षको २० वटा सिनेमा चाहियो भने पनि म दिन तयार छु ।’ सकेसम्म धेरै भन्दा धेरै फिल्म बनेमात्र नेपाली फिल्म उद्योग माथि लाग्ने उनको धारणा छ ।
१५ वर्षअघि फिल्म क्षेत्रमा काम गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘म त्यो जमानाबाट आएँ, जुन समयमा फिल्म हे¥यो भने छोरो बिग्रियो भन्ने मानसिकता थियो । त्यसकारण सिकाउने कोही थिएन । हाम्रो पुस्ताले जे जति ग¥यौं सबै आफैं ग¥यौं र यहीं सिकेर यहीं बनाउने प्रयास गर्यौं ।’
त्यसो त केही जमातले नेपाली फिल्म बढी मात्रामा भारतीय फिल्मबाट चोरियो भन्ने आरोप पनि लगाउने गर्छन् । यसले भारद्वाजलाई केही फरक पार्दैन । उनी ढुक्कसँग भन्छन्, ‘यो सब भन्नुभन्दा पहिला हाम्रोे वास्तविकता जान्नुपर्छ । हामी यस्तो परिवेशबाट आयौं जहाँ फिल्मबारे सिकाउने कोही थिएन । हिन्दी सिनेमाको बिगबिगी थियो । फिल्म भनेकै हिन्दी सिनेमा हो भन्ने छाप जो थियो । त्यो परिवेशववाट आएको मान्छेले बनाएको फिल्म हिन्दी फिल्मको कपी भयो भन्नु स्वभाविक हो ।’
विशेषगरि फिल्मको स्क्रिप्ट लेख्ने र पर्दापछाडि रहेर काम गर्ने प्रायः व्यक्तिलाई दर्शकले खोज्दैनन् । तर, स्क्रिप्ट लेखक, निर्देशक, सिनेमाटोग्राफर र एडिटर फिल्मका मुख्य खम्बा मानिन्छन् । फिल्ममा स्क्रिप्ट लेखनको आफ्नो भिन्नै स्थान छ ।
भारद्वाजले कति हिट फिल्म लेखे तर उनी ‘लाइमलाइट’ मा छैनन् । दर्शकले उनलाई खोज्दैनन् । फिल्मको महत्वपूर्ण व्यक्ति भए पनि आफू लाइमलाइटमा नपर्ने कुरामा उनको कुनै पनि गुनाशो छैन । भन्छन्, ‘यो ग्ल्यामर क्षेत्र हो । यहाँ दर्शकलाई तान्ने नै आर्टिस्टहरू हुन् । यो काम पर्दापछाडि नै बसेर गर्ने काम हुनाले त्यस्तो केही लाग्दैन ।’
तर यसो हुुँदा फिल्मकै सहकर्मीले पनि धोका दिएका छन् उनलाई । पछिल्लो समयको एक घटना स्मरण गर्दै उनले भने, ‘प्रदीप खड्काले फिल्म लिलिबिलीले ५१ दिन मनाएको पार्टी राखेका रहेछन् । तर मलाई नै बोलाइएन । मलाई मात्र होइन फिल्मका टेक्निसियन र सिनेमाटोग्राफरलाई समेत निमन्त्रणा गरिएन ।’
नेपाली सिनेमामाथि नउकासिनुको कारण खुलाउँदै उनले भने, ‘पहिला नेपाली फिल्म क्षेत्रमा लिट्रेसी नै थिएन । यो पेशा क्रमबद्ध रूपमा एउटा पुस्ताबाट अर्र्को पुस्तामा राम्ररी हस्तान्तरण हुनै पाएको छैन । अहिले जति पनि कमजोरी दर्शकले औंल्याएका छन्, यी सबै सिक्दै जाँदा भएका गल्ती हुन् ।’
उनले थपे, ‘नेपालमा राम्रा निर्र्देशकको अभाव छ । लाटोको खुट्टा बाटोमा भनेजस्तो अवस्था छ । धेरैजसो राम्रा चलचित्र झुक्किएर बनेका हुन् । किनभने यही क्षेत्रमा मरिमेट्छु भनेर आउने धेरै कम छन् । कोही लोकसेवामा नाम ननिस्किएर भौतारिएर निर्देशक बनेका छन् । यस्तो हुँदा लकले मात्र फिल्म राम्रो बनेका छन् ।’
नेपाली फिल्मको बजेट एकदमै थोरै हुने, टेबल वर्क कम हुने र निश्चित समयमा नै सिनेमा सक्नुपर्ने बाध्यता रहेको गुनासो पनि उनले पोखे । यसअघि उनले थपे, ‘निर्देशक पनि निश्चित परिधिभित्र बाँधिएका छन् । भनेजस्तो टिम र पैसा पाउँदैनन् । यसो हुँदा निर्देशकलाई सिर्जना गर्र्नमा पैसाले रोकिदिन्छ । फिल्म राम्रो नबन्दा अन्तिममा सबैकोे गाली खाने त निर्देशक हो । त्यही निर्देशकलाई समस्यामा पारेपछि फिल्म कसरी राम्रो बन्छ ?’
नेपाली सिनेमामा पाइला टेकेपछि उनले पर्दामा पहिलो पटक आफ्नो नाम देखेको भनेको फिल्म ‘समर्पण’ मा हो । त्यसपछि फिल्म ‘जंगली मान्छे’ मा । त्यतिबेला पनि ‘जंगली मान्छे’ ले एक डेढ करोड ग्रस कमाइ गरेको उनले बताए । साढे ६ लाखमा बनेको फिल्मले त्यस्तो व्यवसायिक सफलता पाउँछ भनेर उनले सोचेका थिएनन् । त्यस्तैगरि व्यवसायिक रुपमा फड्को मारेका फिल्म हुन् ‘देवर बाबु’, ‘साहारा’, कसले चोर्यो मेरो मन, छोडिगए पाप लाग्ला, हिफाजत, आइ एम सरी, कुसुमे रुमाल २ र ब्याच नंबर १६ जसले नेपाली फिल्म हेर्ने नजर नै परिवर्तन गर्यो ।
फिल्मी क्यारियरको पहिलो फिल्मबाट उनले एक लाख भन्दा बढी पारिश्रामिक पाउने एग्रिमेन्ट भएको थियो । त्यसको पुरा पैसा नआएपछि पैसा माग्दा निर्माताले आफूलाई कुटाउन गुण्डा पठाएको पनि उनले बताए । काम गर्दै जाँदा ‘हाउसफुल’ भन्ने सिरियलबाट उनले एक पैसा पनि पाएनन् । तर अहिले परिवेश फेरिएको उनको तर्क छ । भन्छन्, ‘अहिले पछिल्लो समय यस्तो समस्या छैन । लिलिबिलिमा मैले तोकिएको भन्दा बढी पारिश्रामिक पाएँ । तर त्यो बढी पारिश्रामिकलाई अहिले वीर विक्रममा मिलाएको छु ।’
कुनै समय काम गरेको पैसा माग्दासमेत गुण्डा लगाइने परिवेशबाट आएका भारद्वाज अहिलेको नेपाली सिनेमा क्षेत्र देखेर फुरूंग छन् । पछिल्लो पाँच सात वर्षदेखि ‘इन्डस्ट्री’ धेरै राम्रोे भएको उनको बुझाई छ ।
स्क्रिप्ट लेखनमा उनी मरिमेटेर लागेका छन् । तर फिल्म रिलिज भएपछि समिक्षा आउँदा समिक्षकले कथा र पटकथाबीचको फरक नै नबुझ्दा भने उनको मन कड्किन्छ । भन्छन्, ‘कतिले कथा र पटकथा बीचको फरक नै बुझ्दैनन् । फिल्म कथाले होइन पटकथाले बोल्छ । यो भनेको अत्यन्तै गाह्रो काम हो ।’
भारद्वाज आफूलाई एकदमै आत्मविश्वासले भरिएको व्यक्ति ठान्छन् । हरेक कुरालाई सकारात्मक ढंगले हेर्ने उनको यो बानी नजिकका इष्टमित्रले रूचाउँछन् । उनीसँग जीवनको एकमात्र महत्वपूर्ण शूत्र छ । भन्छन्, ‘जो मानिस विचारले भरिएको हुन्छ, त्यो कहिल्यै एक्लो हुँदैन ।’
‘स्क्रिप्ट राइटर’ प्रदीप भारद्वाज