३० हजार नर्सहरु देशबाहिर
प्रशान्त वली
काठमाडौं । नर्सहरु पलायन हुने क्रम रोकिएको छैन । सरकारले नर्सिङ पेशालाई मर्यादीत र व्यवस्थित बनाउन नसक्दा अहिलेसम्म दर्तावाल ३० हजार नर्सहरु अन्य मुलुक पलायन भइसकेको नेपाल नर्सिङ एसोसिएसनले जनाएको छ । धेरैजसो अष्ट्रेलिया, अमेरिका, क्यानडा, नर्वे पुगेका छन् ।
सरकारले न्यूनतम पारिश्रमिक १३ हजार चार सय रुपैंया तोकेपनि १० हजार रुपैंयासम्म तलव लिएर अधिकांश नर्सहरु काम गर्न बाध्य छन् । काठमाडौंस्थित एक निजी अस्पतालमा कार्यरत विएससी नर्सिङ गरेकी रञ्जना दाहाल (नाम परिवर्तन) ले शिक्षण अस्पताल महाराजगञ्जको भ्याकेन्सीमा फर्म भरिन् । तर, उनी काम गर्ने निजी अस्पतालले परिक्षाका लागिसमेत बिदा दिएन । अझै पनि नर्सहरु लगातार १२ घण्टासम्म काम गर्न वाध्य छन् ।
देशभर झण्डै ८३ हजार नर्सहरु रहेको र त्यसमध्ये ४० हजार विभिन्न अस्पतालमा कार्यरत छन् । नेपाल नर्सिङ एसोसिएनका अध्यक्ष तारा पोख्रेलका अनुसार नर्सहरुलाई सरकार र अस्पतालले श्रम शोषण गर्दा पलायनको दर बढेको हो । उनले भनिन्, ‘जनरल वार्डमा पाँच जना विरामी बराबर एक नर्स आवश्यक हुन्छ । तर, नर्सहरुले नियमानुसार पाउनु पर्ने तलब, सुविधा सुनिश्चित नगर्दा स्तरीय स्वास्थ्य सेवा प्रभावित भएको छ ।’
नेपाल नर्सिङ परिषद्को तथ्याङकअनुसार नेपालमा ८२ हजार तीन सय ८८ जना नर्सहरु छन् । जसअन्तर्गत ४९ हजार नौ सय ३० नर्स, ३१ हजार ६ सय २३ अनमी र आठ सय ३५ विदेशी नर्स छन् । यस्तै अहिलेसम्म २० हजार पाँच सय ५२ जना नर्सले दर्ता नवीकरण गराएका छन् । जसअन्तर्गत् १४ हजार ४५ जना नर्स र ६ हजार पाँच सय ७ अनमी छन् ।
प्रमाणपत्र तहको तीन वर्षे कार्यक्रम र स्नातक तहको (बिएससी नर्सिङ) कार्यक्रम पूरा गर्न चार वर्ष लाग्छ । प्रमाणपत्र तह पूरा गर्नै ७ साल रुपैयाँसम्म खर्च हुन्छ । बिएससी नर्सिङ पूरा गर्न आठदेखि दश लाख रुपैयाँ खर्च हुन्छ । समय र पैसा खर्च गरेर नर्सको प्रमाणपत्र हात पर्दा पनि राम्रो सेवासुविधा पाउने निश्चितता भने छैन ।
सरकारले तोकेको न्युनतम पारिश्रमिक नपाउँदा पनि काम गरिरहेका धेरै नर्सहरु छन् । ‘काम गरेर गर, नगरे जाऊ भन्ने अस्पताल धेरै छन् । भएको रोजगारी गुमाउनु भन्दा नबोल्नु नै ठीक लाग्छ ।’ एक नर्सले बताइन् ।