‘ए’ डिभिजन लिगः सोमबारदेखि चौथो चरणका खेल सुरु
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि चौंथो चरणका खेलहरू सुरु हुँदैछन् ।
सोमबार पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
पहिलो खेलमा दुई अपराजित टोली संकटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा गर्नेछन् ।
संकटा यसअघिका लगातार तीन खेल जित्दै ९ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ भने दुई जित र एक बराबरीको नतिजासहित आर्मी सात अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
यस्तै, एन्फा कम्प्लेक्समा हुने दोस्रो खेलमा चौथो स्थानको थ्रीस्टारले एनआरटीसँग खेल्दैछ ।
लगातार दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको थ्रीस्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अङक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन ।
तेस्रो खेलमा हल्चोकस्थित एपिएफ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै टोलीले लिगमा अहिलेसम्म मिश्रित नतिजा निकालेका छन् । एक जीत, एक बराबरी र एक हारसँगै दुवै टोलीको समान चारचार अंक रहेको छ ।
लिगअन्तर्गत चौथो चरणको खेलको पूर्वसन्ध्यामा सबै क्लबहरूले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले आफूहरू जित्नकै लागि खेल्ने बताएका छन् । एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले थ्रीस्टार बलियो क्लब रहेकाले ऊसँग बराबरीको नतिजाका लागि खेल्ने बताए ।
त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरूको मुख्य लक्ष्य भेनेकै तीन अंक रहेको बताए । ‘केही स्टार खेलाडी घाइते हुनाले आज आर्मीलाई केही अप्ठेरो पर्न सक्नेछ ।
नवयुग श्रेष्ठ घाइते छन्, सुमन अर्याल दोहोरो पहेँलो कार्डले खेल्न पाउँदैनन् भने प्रमोशनको चरणमा भएकाले जर्ज प्रिन्स कार्कीले लिगका बाँकी खेल खेल्न पाउने छैनन ।’
संकटाका प्रशिक्षक सल्यान खड्गीले तयारी राम्रो रहेकाले आर्मीविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताए ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले च्यासल आफूहरूका लागि चुनौतीको टोली भएकाले बल पोजिसन राख्दै खेल आफ्नो पक्षमा राख्ने बताए ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता