मुख्य समाचार

नेपाल-भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

नेपाल-भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

कपिलवस्तु । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनिकरणका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ ।

 

 

बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनिकरणका लागि अपनाउन सकिने उपायलगायत विषयमा छलफल भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिए ।

 

 

बैठकमा भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएका नेपालका कपिलवस्तु र रुपन्देही जिल्लाको सीमा नाकामा हुने आपराधिक घटना नियन्त्रणका लागि दुवै पक्षबाट सहयोग, समन्वय र सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको बताइएको छ । 


 

 

बैठकले भारतीय सीमावर्ती क्षेत्र चाकरचौंडा नाकामा भारतीय भन्सार कार्यालय राख्न सुझावसमेत दिएको छ । सो क्षेत्रमा भन्सार कार्यालय राख्न सके भारतको अलिगढवा घुम्न आउने पर्यटकलाई बौद्धस्थल लुम्बिनी र तिलौराकोट भ्रमणका लागि सहज हुनेछ ।


 

 

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर पाण्डे, नम्बर २८ गण कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी र भारतीय पक्षबाट सीमा सुरक्षा बल ४३ बटालियनका डेपुटी कमाण्डेन्ट पञ्कजकुमार बर्मा, एसएसबी इन्टेलिजेन्स ब्यूरोका प्रमुख एमएस रायको ससहभागिता थियो । अबको बैठक कपिलवस्तुमा हुने सहमति भएको छ ।

विशेष