कलीयुगबाट ओली युग शुरु !
प्रशान्त वली
काठमाडौं । सोमवार बिहानसम्म त्यस्तो खास केही थिएन । तर, राति त झलमल्ल ‘नयाँ युग’ आएको आभाष दिने गरी सडकमा सोलारका खम्बामा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्वीरसहितका बोर्ड टाँगिएका थिए । एनसेलको विज्ञापन झै गरी बिजुलीका पोल पोलमा प्रधानमन्त्री ओली झलमल्ल देखिए ।
पहिले पहिले राजा महाराजाहरुका तस्वीरहरु सडकमा अनि पत्रपत्रिकामा सजाईन्थे । तर, अहिले दुई तिहाईको बहुमतसहितको सरकारले लागू गर्न खोजेको सामाजिक सुरक्षा कोष सुरुवातमा गरिएको प्रजारवाजीले धेरेको ध्यान तानेको छ ।
प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘नयाँ युगको सुरुवात’ लेखिएका बोर्डमा व्यंग्य गर्दै नेपाली पत्रकारिताबारे शोध गरिरहेका लेखक भानुभक्त आचार्यले फेसबुकमा लेखे, ‘आजबाट कलियुग खत्तम, ओलीयुग शुरु ।’
आचार्यले सोलारका खम्बामा प्रधानमन्त्री ओलीको तस्बीर देखेपछि पहिले नै लेखिसकेका थिए, ‘यो ठाउँमा २०७२ को भूकम्पको पुनःनिर्माण सकिएको, धरहरा बनेको, रानीपोखरी दुरुस्त भएको, भूकम्पपीडित जनताहरु खुशी भएका तस्वीरहरु हेर्ने आशा थियो । २०६१ माघ १९ पछि पूर्वराजा ज्ञानेन्द्रको सत्तारोहणको झल्को आयो । भइसकेका कामको प्रचार गर्दा राम्रो । शुरुहुँदै यस्तो तामझाम गर्दा भ्रष्टाचार विरुद्धको दैनिक सपथ जस्तो होला । ’
पहिलो सामाजिक सुरक्षा दिवस मनाउन गरिएको प्रचारबाजीलाई धेरैले रुचाएका छ्रैनन् । समाजशास्त्री निर्मला ढकालले लेखिन्, ‘पोलपोलमा समाजवाद, समृद्धि हाम्रै पालामा शुभ बिहानी ।’ काम भन्दा प्रचारमुखी भएको भन्दै सरकारको शैलीको धेरैले आलोचना गरेका छन् ।
राष्ट्रिय स्तरका सबैजसो दैनिक अखवार ज्याकेट विज्ञापनले भरिएका छन् । अनलाइनहरुमा पनि सरकारको ‘नयाँ युगको सुरुवात’ नाराको कार्यक्रमले भरिभराउ छन् ।
सामाजिक सुरक्षा कोषको अवधारणा वास्तवमै निजी क्षेत्रमा काम गर्ने लाखौं मजदुर कर्मचारीको हितमा छ । तर यो कार्यान्वयन गर्न त्यति नै चुनौतीपूर्ण पनि छ । किनभने यो कार्याक्रम लागू गर्दा मजदुर–कर्मचारीलाई रोजगारदाताले दिँदै आएको रकममा १८ दशलव ३ प्रतिशत थप रकम दिनु पर्ने हुन्छ । अर्थात आधार तलवमा थप १८.३ प्रतिशत भार रोजगारदातामा थपिन्छ ।
रोजगारदातामा थपिने भारले प्रतिस्पर्धी हुन सकिन्न भन्ने किचलो निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुले झिक्न सक्छन् ।
कोषमा रोजगारदाताले श्रमिकको आधारभुत पारिश्रमिकको १० प्रतिशत सञ्चयकोष वापत र ८ दशमलव ३३ प्रतिशत उपदान वापतसमेत गरी जम्मा १८ दशमलव ३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष वापत गर्ने १० प्रतिशत योगदान गरी जम्मा २८ दशमलव ३३ प्रतिशत रकमबाट वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्ने कार्यक्रम हो यो ।