प्रचार भड्किलो तर कार्यक्रम राम्रो
नेपाल आज । सरकारले प्रथम सामाजिक सुरक्षा दिवस मनाउन उल्कै गरी प्रचार गरेको छ । यो दिवस सरकारले मंगलबार औपचारिक रुपमा मनाउनेछ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्तै तर वृहत कर्मचारी–मजदुर समेट्ने गरी सामाजिक सुरक्षा कोषको अवधारणा आफैमा राम्रो कार्यक्रम हो ।
भड्किलो प्रचारका कारण यो कार्यक्रम नै ओझेलमा पर्छ कि भन्ने विषय यतिबेला पेचिलो बनेको छ । तर बुझ्नु पर्ने के हो भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जस्ता साना बचत गर्ने वित्तीय संस्थााबाट त देशलाई धेरै राम्रो फाइदा पुगिरहेको छ भने ३५ लाख बचतकर्तालाई समेट्ने योजनाका साथ स्थापना गरिएको सामाजिक सुरक्षा कोषले लाभ नदिने कुरै छैन ।
नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत भनेको दोलाखामा निर्माणाधीन माथिल्लो तामाकोशी हो । यसको क्षमता ४५६ मेगावाट छ । यो जलविद्युतको ९७ प्रतिशत काम सकिएको छ । यसबाट विद्युत उत्पादन शुरु भएपछि भारतबाट हुँदै आएको बिद्युत आयात बन्द गरे पनि लोडसेडिङ हुँदैन । यस्तो आयोजनामा सञ्चय कोष र नागरिक लगानी कोषको पनि लगानी छ ।
त्यस्तै अहिले चर्चामा रहेको नेपाल वायु सेवा निगमको दुई वटा वाइड बडी एअरबस किन्न पनि निगमलाई तिनै दुई कोषले ऋण दिएका हुन् । अन्य ठूला आयोजनामा पनि यी दुई कोषको लगानी छ । दुई वटा साना कोषको मद्यतमा देश नै लोडसेडिङ मुक्त हुँदैछ भने सामाजिक सुरक्षा कोष सफल रुपमा सञ्चालन भएमा के मात्रै हुँदैन होला ?
यो कोषमा रकम जम्मा गर्दा रोजगारदाताले श्रमिकको आधार तलबमा १८ दशमलव ३ प्रतिशत वृद्धि गर्नु पर्छ । यो सबैभन्दा चुनौतीपूर्ण विषय हो । रोजगारदाता तयार भएको अवस्थामा यो कार्यक्रम धेरै नै राम्रो हुने कुरामा कुनै शंका छैन । योगदानमा आधारित पेन्सनको व्यवस्थासहितको कोषले ६० वर्ष पूरा गरेपछि पेन्सन वा एकमुष्ठ रकम फिर्ता दिने छ ।
प्रचार शैली भड्किलो भयो भन्नेमा दुई मत छैन । कार्यान्वयन होला नहोला त्यो पनि निश्चित छैन । तर कार्यक्रमको अवधारणा मात्रै हेर्ने हो भने यो कार्यक्रम नेपालका मजदुर र कर्मचारीका लागि एक ‘माइल स्टोन’ हुन सक्छ ।