बलिउडको सर्वाधिक महँगो फिल्म २.० बिहीबार रिलिज हुँदै
एजेन्सी । बलिउडको सबैभन्दा महँगो फिल्म २.० बिहीबार रिलिज हुँदै छ । यसअघि पटक–पटक मिति तय गरेर पनि रिलिज हुन नसकेको फिल्म आज एक साथ १४ भाषामा रिलिज हुनेछ ।
फिल्मको मुख्य भाषा भने तमिल हो । अन्य भाषामा डबिङका लागि मात्रै तीन महिनाभन्दा बढी समय लागेको थियो । अझै १० भाषामा डबिङ हुने जनाइएको छ ।
फिल्ममा रजनीकान्त र अक्षयकुमार मुख्य भूमिकामा छन् । अक्षयकुमारको यो पहिलो तमिल फिल्म हो । यसमा उनले खलनायकको भूमिका निभाएका छन् ।
फिल्मको संगीत एआर रहमानले गरेका छन् भने निर्देशन एस शंकरले गरेका छन् । यसको रिलिज डेट पटक–पटक सरेका कारण पनि यसको लागत बढेको अनुमान गरिएको छ ।
लगानी साढे ५ अर्ब, उठिसक्यो ३७० करोड
२.० लाई भारतको अहिलेसम्मको सबैभन्दा महँगो फिल्म हो । यो फिल्म बनाउन पाँच सय ४३ करोड भारु खर्च भएको जनाइएको छ । यसको भिजुअल इफेक्ट निर्माणमा मात्रै सय करोडभन्दा बढी लगानी भएको छ ।
यसको एउटा गीत युक्रेनमा सुटिङ गर्ने भनिएको थियो । तर, रजनीकान्त अस्वस्थ भएपछि पूरै भिजुअल इफेक्ट भारतमै बनाएर सुटिङ भएको थियो ।
जसका कारण पनि लगानी बढेको हो ।त्यसो त फिल्मले रिलिजअघि नै तीन सय ७० करोड भारु उठाइसकेको छ ।
स्याटेलाइट बिक्री अधिकारबाटै एक सय २० करोड कमाएको छ भने तीन भाषाका लागि दिएको डिजिटल राइट्सबाट थप ६० करोड र अन्य व्यापारिक सहकार्यबाट ८० करोड भारु कमाएको छ । समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
फिल्म २.०