विवेकशील साझा प्रदेश ३ की संयोजकको बालअनुभव, ‘मन्त्री भएर पनि बुवाले सरकारी गाडीमा चढाउनु भएन’
काठमाडौं । समीक्षा बास्कोटा हात्तीवनस्थित लिटल एन्जल्स स्कुलमा कक्षा ८ मा पढ्थिन् । बुबा दीपक प्रकाश बास्कोटा तत्कालीन गृहराज्यमन्त्री थिए । मन्त्रीको परिवारलाई राम्रो सुविधा हुने नै भयो । बास्कोटालाई पनि बुबाको झण्डावाला गाडीमा बसेर स्कुल जान रहर भयो । मन्त्रीको छोरी भएपछि कहीँ न कहीँ त्यस्तो रहर पलाउनु पनि स्वभाविक हुन सक्छ ।
झण्डावाला गाडी चढ्नकै लागि एकदिन उनले जानी जानी स्कुलको बस छुटाइन् । अनि लाडे पल्टिदैं भनिन् बुबालाई, ‘मलाई आज तपाईको गाडीमा लगिदिनु न ।’ बुबाले भने, ‘गाडीमा किन जानुपर्यो ? टेम्पोमा जाने ।’ ढिलो भइसकेकोले टेम्पोमा जान सम्भव थिएन । केही सिप नलागेपछि बास्कोटालाई बुबाले आफ्नो सहयोगीलाई भनेर मोटरससाइकलमा छोड्न लगाए ।
त्यसो त बास्कोटालाई बुबाले आफू मन्त्री भएपछि सुविधा लिने क्रम छोराछोरीको पनि हुन्छ भनेर हात्तीवनस्थित लिटल एन्जल्स स्कुलको होस्टलमा राखिदिएका थिए । परिवारको अन्य सदस्यलाई पनि उनले आफू मन्त्रीभएवापतको सुखभोग गर्न दिएनन् । उनी भन्थे, ‘म मन्त्री भएँ भन्दैमा तिमीहरूले यो सबै फाइदा पाउने होइन । यू ह्याभ टु अर्न इट ।’ बच्चामा त यो कुराहरूले खासै पर्ने थिएन बास्कोटालाई । तर, अहिले आएर यी सबै कुराको महत्व बुझ्दैछिन् उनी ।
उनका बुबा युवावस्थादेखि नै कांग्रेसको राजनीतिमा लागेका थिए । राणाकालको भूमिगत राजनीति हुँदै उनी गृहराज्यमन्त्रीसम्म भए । बुबाको राजनीतिक प्रभाव र आमाले बुुबाको राजनीतिक यात्रामा दिएको साथ र सहयोगले पनि बास्कोटामा राजनीतिप्रतिको लगाव घरबाटै सिर्जना भयो । बच्चा हुँदा अरू केटी साथीहसँग भाडाकुटी खेल्ने भन्दा पनि उनी केटाहरूसँग गाउँ डुल्न रूचाउँथिन् । सानैदेखि हठी, निडर र अरूसँग छिट्टै घुलमिल भइहाल्ने बानीले पनि उनलाई धेरैले भन्थे, ‘यो त नेता नै बन्छे कि क्या हो ?’ यस्तो प्रतिक्रियाले भित्रभित्रै उनलाई उर्जा दिन्थ्यो ।
उनै कांग्रेस बाबुकी छोरी बास्कोटा अहिले विवेकशील साझा पार्टीकी प्रदेश संयोजक छिन् । बेलाबेलामा गाउँ जाँदा उनलाई धेरैले भन्छन्, ‘बाबुले उबेला हामी सबैलाई कांग्रेस बनाए । अहिले छोरीलाई विवेकशील साझामा पठाउने ?’ चुनावको समयमा गाउँ जाँदा यस्ता वचन उनले धेरै सुन्नुपर्यो । तर, युवाहरू भने उत्साहित थिए ।
पाँचथर जिल्लामा जन्मिएकी बास्कोटा छोरीमध्ये पाचौं हुन् । आठजना छोराछोरीमा छैटौं सन्तान । उनको पढाई काठमाडौंमै भयो । मानविकीमा प्लसटु गरिन् । नेपालमै कानूनमा ब्याच्लर्स गरिन् र मास्टर्स गर्न अमेरिका गइन् ।
राजनीतिमा लाग्नुपर्छ भनेर बुबाले कहिल्यै पनि नभनेको बताउँछिन् उनी । तर,देश बनाउने मूल अश्त्र नै राजनीति हो भन्ने कुरा भने सिकाउँथे । सन् २०१० मा अमेरिका बसाइ चटक्कै छोडेर नेपाल आउँछु भन्दा उनलाई धेरैले गाली गरे । तर, उनी निश्चित थिइन् नेपाल नै आएर केही गर्ने । यहाँ आएर तुरुन्तै सिभिल बैंकमा काम सुरू गरिन् । तर १०—५ को जागिरले निसास्सिइन् उनी ।
काम छोड्न लाग्दा सहकर्मीहरूले यति छिटै काम छोड्दा सिभी राम्रो बन्दैन भन्न थाले । ८ महिना काम गरेपछि सोचिन्, ‘आखिर म पछि गएर आफ्नै ल फर्म खोलेर बस्ने हो । मलाई कसलाई देखाउनु छ र मेरो सिभी ?’ यति कुरा बुझेपछि जागिर छोडिन् र पुतलीसडकमा आफ्नै ल र्फम खोलिन् ।
अमेरिकाबाट आएकी उनको यहाँबाट फेरि जिरो लेभलबाट संघर्ष शुरु भयो । कहिलेकाहीँं खाजा खान पैसासमेत हुने थिएन । साथीहरूले भेट्न बोलाए पनि नकार्थिन् । अमेरिकाबाट फर्किएपछि काठमाडौं उनलाई निकै महंगो लाग्न थालेको थियो । यस बीचमा उनको विवाह भयो र बच्चा पनि । बच्चा जन्माएपछि कानून पेशालाई राम्ररी निरन्तरता दिन सकिनन् उनले । केसहरू अरूलाई दिइन् र बुबाले शुरु गरेको चियाको व्यवसायलाई थप निरन्तरता दिइन् । ३० वर्ष पुरानो नेपालको पहिलो अर्ग्यानिक चिया उनकै परिवारको व्यवसाय हो ।
यसै बीचमा विवेकशील साझाको उम्मेद्वार बन्ने प्रस्ताव पनि आयो । बुबासँग पनि सल्लाह गरिन् । बुबाले पनि रोकेनन् । किनभने बास्कोटाका बुबाको दाइ प्रधानपञ्च हुँदा उनले कंग्रेसको राजनीति गरेका थिए । उनी आफैं पनि छोराछोरीको निर्णयलाई सम्मान गर्थे । बास्कोटाले सुरुवाती दिनदेखि यी दुई पार्टीलाई नियालीरहेको हुनाले उनले यस प्रस्तावलाई स्वीकार गर्न धेरै समय लगाइनन् ।
अहिले उनी अमेरिकाबाट फर्किएको ८ वर्ष भयो । त्यहाँबाट फर्किदाँ नेपालमै केही गर्छु भनेर फर्किएकी थिइन् उनी । त्यो जोश कहाँ पुग्यो त ? आफूले आफूलाई कहाँ पाएकी छिन् उनले ? यो प्रश्नमा उनले भनिन्, ‘त्यो जोश मसँग अहिले पनि कायम छ । हरेक दिन उर्जा मिल्छ ।’ त्यो जोशको नतिजा हेर्नुपर्दा अहिले उनको आफ्नै चियाको व्यवसाय छ, कानूनी क्यारियर पनि सँगै गइरहको छ । परिवारलाई समय दिइरहेकी छिन् । साथै विवेकशील साझामा पनि उनी लागिपरिहेकी छिन् ।
भन्छिन्, ‘यदि म अमेरिकामै भएको भए त्यहाँ बसेर म कहिल्यै पहिलो दर्जाको नागरिक हुने थिइनँ । ग्र्रिनकार्ड नै पाए पनि मेरो छालाले त मलाई अमेरिकन भन्दैन ।’
तर अमेरिका बसाई उनको लागि स्वर्णीम समय हो । त्यहाँको संघर्षबाट मान्छे बन्न सिकेको बताउँछिन् उनी । अमेरिका बसाईले उनलाई पैशाको महत्वजस्ता यावत् कुरा सिकायो । तर, अमेरिकालाई सपनाको शहर मान्न भने तयार छैनन् उनी । सामाजिक सञ्जालमा देख्ने फोटोमात्र सपनाको शहर भएको उनको बुुझाइ छ । भन्छिन्, ‘अमेरिका भन्दा धेरै अवसर नेपालमा देखेकी छु ।’
जुन दिन अमेरिका छोडेर उनी नेपाल आइन्, उनले नेपाल बसेर कहिल्यै नेपाललाई अमेरिकाससँग दाँज्ने र गुनासो नगर्ने दृढ संकल्प गरिन् । त्यसैले त घरमा पनि सासुले उनलाई भन्ने गछिन्, ‘समीक्षाले अहिलेसम्म नेपाल बसेर अमेरिकामा यस्तो थियो भनेर कम्प्लेन गरेको थाहा छैन ।’
हाल विवेकशील साझाले संगठन विस्तारलाई प्राथामिकता दिएको छ । पछिल्ल्लो चुनावी प्रचारमा सामाजिक सञ्जालले सहयोग गरेको थियो अहिले पार्टी पूर्ण रूपमा निर्माणको क्रममा छ । विवेकशील साझाको पार्टीगट सिद्धान्त भएन भनेर धेरैको गुनासो छ । उनी भन्छिन्, ‘पार्टी लेफ्टिस्ट या राइटिस्ट हुुनुुपर्छ भन्ने छैन । हाम्रो जीवनस्तर कति माथि पुग्यो भन्ने कुरा महत्वपूर्ण हो । काठमाडौंका बसिन्दा र जुम्लाका बासिन्दाको जीवनस्तर उत्तिकै हुुनुपर्छ । राजनीतिक सिद्धान्त जस्तोसुकै भए पनि व्यक्तिको जीवनमा केही परिवर्तन आएन । शिक्षा र स्वास्थ्यमा राम्रो पहुँच भएन । हाम्रो मुद्दा यही हो ।’