पोखरा प्रिमियर लिगः काठमाडौं रोयल्सद्वारा चितवनलाई ९५ रनको लक्ष्य
काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत फाइनलका लागि चितवन राइनोज र काठमाडौं रोयल्स भिडिरहेका छन् । आइतबार काठमाडौंले टस जितेर ब्याटिङ रोज्यो । उसले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।
सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिँदै काठमाडौं सस्तैमा समेटियो । काठमाडौंले पहिलो ओभरमा आक्रामक सुरुवात गर्दै १५ रन बनाएको अवस्थामा दोस्रो ओभरमा सन्नीले अमित श्रेष्ठ, पवन सर्राफ र गौरव तोमारलाई आउट गरी चितवनलाई उत्कृष्ट पुनरागमन गराएका थिए।
काठमाडौंबाट जयकिस्नन् कोल्सावालाले २५ र कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए। ज्ञानेन्द्रले ३५ बल खेली २ चौका प्रहार गरे। खेलको एक मात्र छक्का प्रहार गरेर आदिल खान ८, बसन्त रेग्मी शुन्य, अमरसिंह रौटेला ९ र सुशन भारी ३ रनमा आउट भए।
सन्नीले ३ विकेट लिने क्रममा ४ ओभरमा ९ रन मात्रै खर्चिए। अर्का भारतीय खेलाडी स्मति पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।
भुवन कार्कीले ३ ओभर बलिङ गर्दै १० खर्ची २ विकेट लिए। करण केसी र कप्तान पारस खड्काको नाममा १र१ विकेट रह्यो। ९५ रनको लक्ष्यसहित अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।
यस खेल जित्ने टोलीले मंगलबार हुने फाइनलमा पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने छ। राउन्ड रोबिनको प्रतिस्पर्धामा चितवनले काठमाडौंमाथि १३ रनको विजय हात पारेको थियो।
पोखरा प्रिमियर लिग चितवन राइनोज र काठमाडौं रोयल्स