‘खुदाबक्स’ बन्नका लागि अमिताभलाई तयार हुनै लाग्थ्यो ३ घण्टा
काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चन र अभिनेता आमिर खान दुवैले एकसाथ काम गरेको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ नोभेम्बर ८ मा रिलिज हुँदै छ । फिल्मको रिलिज मिति नजिकिएसँगै फिल्मबारे विभिन्न रहस्य बाहिरिएका छन् ।
हालै सार्वजनिक भएको एक भिडियोमा ७५ वर्षीय अमिताभ बच्चनको तयारीलाई देखाइएको छ । उक्त भिडियोमा अभिताभले आफूलाई खुदाबक्सको अवतारमा तयार हुन नै ३ घण्टा लाग्ने गरेको बताएका छन् । त्यस्तैगरि मेक अप हटाउन पनि एकदेखि दुई घण्टा लाग्थ्यो । मेक अप सफा नगर्दा छाला बिग्रने डर पनि उत्तिकै ।
भिडियोमा आमिरले पहिलो पटक अमिताभसँग काम गर्दाको अनुभव पनि साटेका छन् । माल्टामा अमिताभसँग पहिलो दिन सुटिङ गर्ने समय आमिर धेरै नर्भस भएका थिए । उनले नजिकबाट अमिताभको कामप्रतिको लगावलाई नियालेको पनि बताए । आमिरका अनुसार अमिताभ सुटिङ सुरू हुनु भन्दा पहिला सय देखि दुईसय पटकसम्म आफ्नो डायलग्स पढ्ने गर्थे ।