राष्ट्रपतिका तीन भाइ, टीका लगाइ दिँँदैछन् एक जनाले मात्रै
काठमाडौं । नेपालीहरूले दशैं पर्वको विदाई गरिसकेका छन्। दशैं सकिएलगत्तै दिदीभाइ दाजुबहिनीको पर्व तिहारकाे पनि शुक्रबार अन्तिम दिन हाे ।
उच्च पदस्थहरुले कसरी भाइटीका लगाउने छन् भन्ने चासाेकाे विषय हुने गर्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्ष काठमाडौंमै भाइटीका लगाउने कार्यक्रम रहेको छ। राष्ट्रपति निवास शीतल निवासमै राष्ट्रपति भण्डारीले भाइटीका लगाउने छन्। आफ्ना कान्छा भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति भण्डारीले भाइटीका लगाउने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए।
कान्छी बहिनी शुसिला पाण्डे पनि काठमाडौंमै रहेकाले दुई दिदीबहिनीले भाइ डेगेन्द्रलाईसँगै भाइटीका लगाउने राष्ट्रपति भण्डारीको कार्यक्रम रहेको छ। 'राष्ट्रपति ज्यूले शितल निवासमै भाइटीका लगाउने कार्यक्रम रहेको छ। उहाँले आफ्ना कान्छा भाइ डेगेन्द्रलाई टीका लगाउनुहुन्छ', स्वकीय सहसचिव भट्टराईले भने 'उहाँको कान्छी बहिनी शुसिला पनि काठमाडौंमै हुनुहुन्छ। उहाँहरू दुई दिदीबहिनीले सँगै भाइलाई टीका लगाउने कार्यक्रम छ।'
दुई भाइहरू अमेरिकामा राष्ट्रपति भण्डारी जेठी दिदी हुन्। उनका तीन भाइ र एक बहिनी छन्। दुई भाइहरू अमेरिकामा बस्दै आएका छन्। अमेरिका बस्ने भएकाले यसवर्ष पनि उनीहरू दिदीको हातबाट टीका लगाउन पाउनेछैनन्। दुई भाइहरू तेजेन्द्र पाण्डे र टेकेन्द्र पाण्डे भने अमेरिकामा बस्ने भएकाले काठमाडौंमा रहेका कान्छा भाइसँग मात्र टीका लगाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।