मनोरञ्जन

नेपाल आइडलबाट पवन बाहिरिए, रविले पाए सर्वाधिक भोट

नेपाल आइडलबाट पवन बाहिरिए, रविले पाए सर्वाधिक भोट

काठमाडौं । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। 

 

औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए।

 

उत्कृष्ट ६ बाट पवन बाहिरिएसँगै उत्कृष्ट पाँचमा स्थान बनाउन सफल भएका छन् विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठकलाई संगीतको यो महासंग्राम जित्ने हतारो छ ।

 

नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन् । उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरे ।

 

साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्मान कायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचासमेत गरे। 


उनी ‘नेपाल आइडल सिजन १’ मा पनि सहभागी थिए । पहिलो सिजनमा छनोट नभएपछि केही समय उनी निकै निराश भएका थिए। घर नजिकै चर्च थियो ।

 

उनको दिक्दारी हटाउन एकदिन एउटा साथीले उनलाई चर्चमा लगे। त्यहाँ संगीतका सबै साधन थियो, हरेक दिन संगीतको कार्यक्रम हुन्थ्यो ।

 

उनी हरेक दिन त्यहाँ संगीतको तिर्खा मेट्न थाले । गीत गुनगुनाउन थाले । केही समयमा नै उनमा अब्बल गीत गाउन सक्ने क्षमता विकास भयो ।

 

यही कारण नेपाल आइडल सिजन—२ मा उनी सुरुदेखि नै राम्रो गाउने गायकको रूपमा दरिएका थिए । 

 

 

कार्यक्रम फाइनल राउन्डको नजिक पुग्दा नेपाल आइडलको चर्चा चुलिँदै गएको छ। विश्वमै सबैभन्दा बढी हेरिने कार्यक्रमको दोस्रो नम्बर पर्न सफल भएको छ, नेपाल आइडल ।

 

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु भएको हो।

 

यो हप्ता सुमित पाठक र अमित बराल बटम थ्रीमा परे ।  रवि ओडले यो हप्ता सबैभन्दा बढी भोट पाए । यो समाचार अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

पवन गिरी रवि ओड

विशेष