शिव सेनाका अध्यक्ष बस्नेत पक्राउ
काठमाडौं । एसिया प्यासिफिक समिटको विरोध गर्ने सम्भावना मूल्यांकन गरेर प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ सहित २५ जनालाई पक्राउ गरेको छ ।
गौशालामा शिव सेनाको बैठक चलिरहेको बेला चार पाँचवटा भ्यानमा आएका प्रहरीहरुले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अध्यक्ष बस्नेतसहित शिव सेनाका करिब २५ नेता कार्यकर्ता छन् । पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लबतर्फ लगिएको छ ।
हिन्दु धर्मको विपक्ष र क्रिष्चियन धर्मको प्रचारका लागि आयोजना गरिएको भन्दै समिटको विरोध गर्दा करिब ५० जना विभिन्न धार्मिक संगठनका नेता कार्यकर्ताहरु यसअघि नै पक्राउ परेका छन् ।
ती ५० जनालाई सम्मेलनस्थल होटल हायात नजिकै विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
हायात प्रवेश गर्ने ढोका अर्थात् चुच्चेपाटी चाबहिलबाट पूर्वराज्यमन्त्री विराज विष्ट, बिश्व हिन्दु महासंघका उपकोषाध्यक्ष राधेश्याम थापा, श्याम केसी, दामोदर शर्मा , सोमविक्रम सिंह,सुशील सिंह, सपना अर्याल , रघु न्यौपाने, मधुसूदन लाल श्रेष्ठ , रघु राजभण्डारी , दीपेन्द्र ढकाल , प्रदीपमान श्रेष्ठ , मानव सेवक, लगायतका महासंघका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।