लघुवित्त संस्थाहरुलाई गरिबी निवारणमा सहयोगी भूमिका निर्वाह गर्न प्रधानमन्न्त्रीको आग्रह
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लघुवित्त संस्थाहरुले उच्च ब्याज लिने गरेको भन्दै राष्ट्रबैंकको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
काठमाडौंमा शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताएका हुन् ।
गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरुले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत ब्याज लिने गरेको भन्दै आपत्ति जनाए । उनले राष्ट्रबैकबाट कार्यक्रममा उपस्थित अधिकारीप्रति इंगित गर्दै लघुवित्त संस्थाहरुले लिने उच्च ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण गराए ।
गरिबी निवारणमा सहयोगी भूमिका निर्वाह गर्न, गरिब, पछाडि परेको समुदाय, महिला लगायतलाई उत्पादनशीलतामा संलग्न गराउनका लागि उपयोगी बन्नुपर्ने संस्था नै लगानीकर्तामुखी भएको भन्दै प्रधानमन्त्री ओलीले ब्याजका बारेमा सामूहिक सहमतिमा निर्णय गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रमा क्रमश सुधार आउँदै गएको भन्दै लघुवित्त संस्थाहरुबाट सुविधा लिएर व्यवसाय गर्न सुझाव दिए । दुई दिने सम्मेलनमा देशभरका ७५ लघुवित्तका सात सय सदस्य सहभागी छन् ।
नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको छ । गरिबी निवारण र सामाजिक रुपान्तरणका लागि लघुवित्तको अवधारणा सुरु भएको भए पनि पछिल्लो समय लगानी र ब्याजदरका विषयमा सेवाग्राहीको गुनासो बढ्दै गएको देखिन्छ ।