मदमा मस्त भएर नाच्नेहरुलाई जसले दिए मीठो सिर्जना (भिडियोसहित)
तामाङ र मगर भाषा पनि जानेको छु, गीत गाएको छु
काठमाडौं । ‘बोतलको पानीले आँखा सन्काई सानीले, इज्जत गयो पिउने बानीले’ बोलको चर्चित गीतका सर्जक हुन् भोजराज काफ्ले । केही वर्षअघि उनका छोराले ‘भन्नु नभाको, आमा रातो सारी चुरा पोते किन नला’को’ बोलको गीत गाएका थिए । त्यो गीतले सामाजिक जागरणमा ध्यान दिनेहरुको शरिरमा काँडा उमारेको थियो । नेपाली सामाजलाई तरंगीत पार्ने मात्रे होइन पियक्कडहरुलाई उफार्ने गीत पनि काफ्ले सिर्जना गरिरहेका छन् ।
काफ्लेका हरेकजसो गीतमा लोकभाकाको मिश्रण पाइन्छन् । सिनेमामा प्रयोग हुने गीत, पप र आधुनिक गीतमा समेत लोकभाकाको मिश्रणलाई धेरैले रुचाएको उनको विश्लेषण छ ।
१४ वर्षको उमेरदेखि भोजराजले गीत गाउन थालेका थिए । १५ वर्षको उमेर पुग्दा उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरे । त्यसपछि उनी निरन्तर गीत संगीतमा क्रियाशील छन् ।
नेपालमा गीत संगीत क्षेत्रलाई नजिकबाट नियालिरहेका काफ्लेको मतमा जुनसुकै धारका गीत संगीतले पनि नेपालीपन समाउँदा त्यो राम्रो हुन्छ । कला संस्कृतिलाई योगदान दिन्छ भने कसैले घुँडाभन्दा माथि कपडा लगायो कि तलसम्म लगायो भन्ने कुरा महत्वपूर्ण नहुने उनी बताउछन् ।
गीत संगीतमा रुची उमेरअनुसार फरक हुन्छ । २५ वर्षको व्यक्तिलाई लोकगीत मन पर्दैन भने पनि ४० वर्षको उमेरमा त्यही व्यक्तिले आफ्नो गीत संगीत मन पराउछ । यसकारण लोकसंस्कृतिले हरेक व्यक्तिलाई प्रभाव पार्ने भोजराजको भनाइ छ ।
वर्षमा १०० वटा जति गीत रेकर्ड हुन्छ भोजराजको । यसहिसाबले उनका कैयन गीत रेकर्ड भइसकेका छन् । धेरैजसो गीत लोकभाकाकै छन् ।
पछिल्लो समय ‘माछा तारेको’ बोलको गीत निकै चर्चित भएको छ । मदिरा प्रेमीहरुलाई मन पर्ने र उनीहरुलाई सचेत गराउने गीत नै भोजराजका पाँचवटा भइसकेका छन् । उनका गीतले मनोरञ्जन मात्रै दिँदैनन, सन्देश पनि दिन्छन् । ‘बोतलको पानीले आँखा सन्काई सानीले’ बोलको गीतमा पनि मदिरा सेवन गरे ‘इज्जत जान्छ’ भन्ने सन्देश दिएको छ ।
भोजराजले गीत लेख्दा रक्सीकै कुरा गरे पनि त्यसमा सामाजिक उत्तरदायित्व भने हुन्छ । नेपाली समाजको प्रतिनिधित्व गर्ने भोजराजका गीतले नेपाली संगीत क्षेत्रलाई ठूलो योगदान दिएको छ ।