अर्थ र कृषि समितिको संयुक्त बैठक स्थगित
काठमाडौं । कोरम नपुगेको भन्दै मंगलबार बिहान सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तर्गतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक स्थगित भएको छ।
बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको हो । अर्थ समितिका अधिकांश सांसदहरु अनुपस्थित भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । सांसदहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।
संयुक्त बैठकका लागि मर्स्याङ्दी–२ जलविद्युत आयोजनाको लाइसेन्स खरिद बिक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो। भारतीय कम्पनी जिएमआरले सो जलविद्युत आयोजनाको लाइसेन्स बिक्री गरेपछि सो सम्बन्धमा अध्ययन गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको थियो।