राष्ट्रपति भन्दा पूर्वराजा नै लोकप्रिय छन् अहिले (भिडियोसहित)
काठमाडौं । केशवप्रसाद चौलागाईं अन्तर्धार्मिक परिषद, नेपालका सचिव हुन् । उनी धर्म–समाज र राजनीतिबारे अनुसन्धानमा रुची राख्छन् । नेपालका सबै क्षेत्र, वर्ग र समुदायको समान विकास हुन सकेको छैन । तराईका केही समुदाय, कर्णालीका जनता, आदिवासी जनजातीहरुलाइ राज्यको मूल प्रवाहमा ल्याउन सकिएको छैन । तर पनि एकआपसमा सँगै हिँड्नु पर्छ भन्ने मान्यता सबैले लिएको चौलागाईं बताउँछन् । उनको मतमा शासक खस आर्य भएर मधेस उपेक्षामा परेको होइन । मधेसी नै शासक हुने हो भने पनि तराई एकाएक समृद्ध हुने होइन । यदि कुनै जाति विशेषले शासन गर्दा त्यही जातीको विकास हुने भए कर्णालीका खसले किन सिटामोल पाउँदैनन् रु उनी प्रश्न गर्छन् ।
सबै जातिजातीको विकासका लागि भनेर आरक्षणको विषय प्रवेश गराइयो । तर यो आरक्षणले पनि सबै जातजातीको विकास नहुने भारतको उदाहरणबाट प्रष्ट भएको उनी बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नाराअगाडि सारेका छन् । तर उनी काम भन्दा कुरामा अल्झेको चौलागाईंको दावी छ । प्रधानमन्त्री ओलीले बुद्धिजीवीलाई थला पार्ने कुरा गरेको, उखानटुक्का भन्नमै समय खर्चेको चौलागाईं टिप्पणी गर्छन् ।
पछाडि परेका वर्ग र समुदायका लागि धेरैवटा आयोगको प्रस्ताव संविधानमा छ । चौलागाईंको मतमा पछाडि परेका खसआर्यका लागि पनि आयोग गठन हुनु पर्छ ।
नेपालमा सबै जातजातीको विकास नभएको कुरा साँचो हो । जुन समयमा संसारले आफ्नो काँचुली फेरेको थियो, त्यो बेला नेपालमा राणाहरुको शासन थियो । उनीहरुले हाम्रो १०४ वर्ष खाइदिए । विश्वका लागि त्यो स्वर्णीम युग थियो । हाम्रो लागि कालरात्रि । त्यो बेला कसैको हित भएन । राणाहरुले कसरी मुलुक जोगाउने र सुगौली सन्धिमा गुमेको जमिन माग्ने काम गरे । सिपाई बिद्रोह दबाएबापत अंग्रेजले चार जिल्ला त दिए । पहिलो विश्वयुद्धमा पनि नेपालले सहयोग गरेको थियो ।
त्यो सहयोगपछि पनि नेपालले भूमि नै मागेको थियो । तर अंग्रेजले जे सहयोग गरे पनि नेपालीहरु जमिन नै माग्छन् भनेर पैसा दियो जमिन दिएन । त्यही पैसाले बेलायतमा नेपालले दूतावास स्थापना गरेको थियो ।
बाँकी ७० वर्षमा के के भयो त हामीले देखिरहेकै छौं ।
नेपालमा अरुले विग्रह र द्वेष फैल्याउन खोज्छन् । तर नेपालीहरु एकता र शान्तिमा विश्वास गर्छन् । उपेक्षामा जात, समुदाय, क्षेत्र परेका छन् । तर पनि मिलेर देश बनाउनु पर्छ भन्ने भावना जनतामा छ ।
नेपालमा कसैले राजसंस्था स्थापना गर्छु भन्दै हिँडेर केही नहुने चौलागाईं बताउँछन् । रक्तापात गरेर राजसंस्था ल्याउने, हिंसा मच्चाएर व्यवस्था फेर्ने पक्षमा राजसंस्था पक्षधर र स्वयं पूर्वराजा पनि नरहेको उनको बुझाइ छ ।