मेरा सन्तानलाई फिल्मको चस्का नलागोस् (भिडियोसहित)
काठमाडौं । झट्ट हेर्दा कामेश्वर चौरासिया उट्पटाङ खालका देखिन्छन् । झन् ‘रेशम फिलिली’ मा ‘हरिया’ को भूमिकाले त उनको छवि उपद्रो नै बनायो । हुन त अनुहार हेरेर कसैको बारेमा पनि मूल्यांकन गरिहाल्न त मिल्दैन । तर, यो चाहींँ भन्न सकिन्छ कि, प्र्रायः अनुहार हेरेर झट्ट यो मान्छे यस्तो होला भनेर धेरैको दिमागमा आकार बन्न सक्छ ।
विवाह गर्न उमेर पुगेपछि कामेश्वर परिवारको साथमा केटी हेर्न पुगे । पहिलो भेटमै केटी मनपर्यो । उनको मनमा लाग्न थालिसकेको थियो, ‘विवाह त यै मोरीसँगै गर्ने हो ।’ तर भइदियो अर्को । कुराकानीको क्रममा उनको पेशाको कुुरा निस्कियो । फिल्ममा सामान्य साइड रोल गर्छु भने पछि ससुराको हात काँप्न थाल्यो । छोरी दिन मानेनन् । तर केटीसँगको सामान्य भेटघाटमा नै कामेश्वरलाई जिन्दगीमा सारा कुरा गुमाए पनि ती केटीलाई गुमाउनु हुँदैन भन्ने लाग्यो । परिवारलाई सम्झाउँदा नलागेपछि उनले अन्त्यमा भगाएरै छोडे । भन्छन्, ‘मन साह्रै चण्डाल हुने रहेछ । यस्तो कुुरामा त डर नै नलाग्ने ।’
विवाह भएको अहिले तीन वर्ष भयो । उनको डेढ वर्षका छोरा पनि छन् । कहिलेकाहीं श्रीमतीसँग घम्साघम्सी पर्छ । उसै त फिल्मी शैलीका उनी श्रीमतीलाई पनि फिल्मी पारामा फकाइदिन्छन् । कामेश्वरलाई नजिकबाट चिन्ने धेरले उनलाई ‘रियल’ भन्दैनन् । किनभने उनको वास्तविक हाउभाउ र बोल्ने शैली पनि फिल्मी लाग्छन् ।
हेर्दा उट्पट्याङ स्वभावका देखिने कामेश्वरले जिन्दगीमा कोही केटीलाई नपछ्याएको र नजिस्क्याएको बताउँछन् । तर सानो छँदा निकै उपद्रो मच्चाउथे उनी । एक पटक स्कुलको हेड मास्टरले खाने तेल किन्न पठाउँदा साइकलमा हाल्ने तेल लगेर खाने तेलमा मिसाइदिएछन् । पछि मास्टरले तरकारी खाएपछि मात्र थाहा पाए । बच्चाबेलाका उट्पट्याङ् गतिविधी सम्झिदाँ अहिले निकै रमाइलो लाग्छन् उनलाई ।
बास्तविक व्यवहारमा फिल्मी पाराका चौरासिया साथीहरूले उचालेकै भरमा कलाकारितामा लागे । उनको शैली देखेर साथीभाइले फिल्म खेल्न हौस्याउँथे उनलाई । उनको अभिनय बारे अरूले दिएको प्र्रतिक्रिया नै उनको लागि ‘प्यासन’ बन्यो । नेपाली फिल्म क्षेत्रका बेथिति केलाउन थाल्ने हो भने सायदै सकिन्छ । त्यसमाथि पनि ‘क्यारेक्टर आर्टिस्ट’ का पीडा त झन् कत्ति कत्ति । उनी पनि यस्ता यावत् अभावबाट गुज्रिए । तर, उनलाई टिकाइरहेको एउटै चिज हो ‘प्यासन’ । किनभने उनको लागि कलाकारिता भनेकै सन्तुष्टि हो । अब त अभावबारे व्याख्या पनि गरिरहन चाहँदैनन् उनी ।
सामान्य रूपमा हेर्दा फिल्म क्षेत्रमा आएर पाएको भन्दा पनि धेरै गुमाएको बताउँछन् उनी । भन्छन्, ‘लेखाजोख गर्न थाल्ने हो भने मैले पाउनु भन्दा बढी गुमाएको छु । तर जति बोले पनि मेरो घर भनेकै फिल्म इन्डस्ट्री हो । मेरो रोजीरोटी यहीँबाट चल्छ । एउटाले बोलेर केही प्रभाव पर्ने होइन । नेपाली फिल्म इन्डस्ट्री चलिरहेको छ, यही नै ठूूलो कुरा हो ।’
२५ वर्ष अघि फिल्म क्षेत्रमा काम गर्छु भन्दा उनले घर परिवारमा युद्ध नै लड्नुपर्यो । पारिवारिक सहायता त थिएन नै । तर फिल्म क्षेत्रको अवस्था अहिलेसम्म पनि त्यस्तै भइदियो कि, उनी अब आफैं बाबु भइसकेका छन् । उनको मनमा पन त्यही चाहना छ, ‘छोरामा फिल्मको चस्का नपरोस् ।’ ठूलो भएपछि छोराले सकेसम्म अन्यत्रै क्षेत्रमा काम गरुन् भन्ने चाहना छ उनमा ।
कामेश्वरलाई सामान्य जीवन मन पर्छ । फिल्मी पहिचानले व्यक्तिगत जीवनमा दखल नपुर्याएकै ठिक लाग्छ उनलाई । भन्छन्, ‘सकेसम्म बाटोमा मान्छेले मलाई नचिनिदिए हुन्थ्यो नै जस्तो लाग्छ । चिनिसकेपछि मान्छेले स्पेसियल व्यवहार गर्छन् । चिनेनन् भने सामान्य व्यवहार गर्छन् । मलाई सामान्य व्यवहार मनपर्छ ।’ तर धेरैजसोले उनलाई कामेश्वर चौरासिया भन्दा पनि फिल्मको भूमिकाले बढी चिन्ने गर्छन् ।
सिल्भर स्क्रिनमा देखिएको पहिलो फिल्म ‘छड्के’ देखि अहिलेसम्म आउँदा उनले आफूलाई धेरै भमिकामा ढाल्न सफल भएका छन् । जसकारण उनी ‘भर्साटाइल एक्टर’ को पंक्तिमा पर्छन् । सरदर हेर्दा प्रायः सबै भूमिका उनलाई गाह्रो नै लाग्छ । तर सिल्भर स्क्रिनमा देखिएको पहिलो फिल्म ‘छड्के’ भएको हुनाले उनलाई छड्केमा खेलेको भूमिका सबै भन्दा गाह्रो लाग्यो ।
व्यवहारमा कामेश्वर निकै भावुक छन् । साना साना कुराले उनको मन छुन्छ । कतिपय कुराहरू उनले सोचेका पनि हुँदैनन् । तिनै साना साना कुराले उनलाई खुसी मिल्छ । उनको धरै भावुक हुने बानीले नै दर्शकले व्यक्तिगत रूपमा उनलाई दिने प्रतिक्रिया आफूले शब्दमा बयान नै गर्न नसक्ने बताउँछन् उनी । एकपटक सुटिङमा भएको घटना साटदै उनले भने, ‘एकजना सिनियर आर्टिस्टले उनलाई चिनिसकेपछि, तँ कस्तो थिइस् हेर्न मन थियो भनेर भन्नुभयो । आफू भन्दा अग्रज कलाकारले आफ्नो फिल्म हेरेर याद गरिरहेको देख्दा यसले मलाई भित्रैबाट छोयो । म मान्छे धेरै इमोस्नल छु ।’
बाहिर कामेश्वर अन्तरमुखी स्वभावका छन् भन्ने हल्ला पनि आउँछ । तर, वास्ताविकता औंल्याउँदै उनले भने, ‘म अन्तरमुखी छैन । मिडियाले खोज्नुहुन्छ भने पुगेकै छु । तर धेरै कमले खोजेका हुन्छन् । फिल्म प्रोमोसनमा पनि मलाई निर्माताले खासै खोज्दैनन् । त्यसकारण पनि त्यस्तो लाग्न सक्छ ।’
क्यारेक्टर आर्टिस्टको पहिचान बनाएका कामेश्वर चौरासियाको लागि कलाकारिता नै सन्तुष्टि हो । जस्तोसुकै अभाव भपनि उनी यसलाई निरन्तरता दिन तयार छन् । तर, निरन्तरता दिन सजिलो भने पक्कै छैन । त्यसैले उनी अब क्यारेक्टर आर्टिस्ट बन्न चाहने नयाँ अनुहारलाई भन्छन्, ‘स्वस्थ्य रहनुस् मस्त रहनुस्, जे गर्नुहुन्छ त्यसमा कडा गर्नुस् । क्यारेक्टर आर्टिस्ट हुने हो भने कडा हुनुपर्यो ।’
कामेश्वर चौरासिया हरिया