काममा इमान नदेखाउने हाकिम मन्त्रीको पछिपछि
काठमाडौं । खानेपानी विभाग अन्तर्गत रहेको ग्रामिण खानेपानी तथा सरसफाई कोषका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद अर्यालले कामको गति नदिँदा खानेपानी आयोजनाहरू धरासायी भएका छन् ।
कोष अन्तर्गत हुने आयोजनामा विश्व बैंकको सहयोग रहँदै आएको छ । विभिन्न जिल्लाका खानेपानी आयोजनाका काम पुुरा नगरिदिने, लथालिङ पारिदिने र वास्ता नगर्ने अर्यालको बानीका कारण कोष पनि धरासायी बनेको छ ।
‘आयोजनाका काम पनि राम्रोसँग हुन सकेको छैन, उहाँको नेतृत्वले सफल काम गर्न सकेन । बरु, आयोजना नै डुबाउने, कर्मचारी सताउने खेल भयो’, स्रोतले भन्यो ।
देशैभरका विभिन्न जिल्लामा खानेपानीका काममा राम्रो व्यवस्थापन नगर्नु मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरसँगको व्यक्तिगत सम्बन्ध विग्रनु पनि हो । अर्याल माथाहात हुने आयोजनामा लथालिङ्ग भएको रौतहट मौलापुरको एउटा आयोजना जर्जर बनेको छ ।
५ महिनादेखि आयोजनाका काम राम्रोसँग हुन सकेका छैनन् भने कोषका कर्मचारीलाई साउनदेखिको तलब समेत वितरण गरिएको छैन । ‘न काम छ न तलब । आयोजनाको काम पनि केही राम्रो भएको छैन’, कोषका कर्मचारी भन्छन्,‘यस्तो पाराले कसरी काम हुन्छ ?’
अर्यालले प्राविधिक कामलाई पनि प्रभावकारिताका हिसाबले प्रयोग गरेका छैनन् । पद जोगाउनका लागि मात्र सक्रिय रहेका उनको प्राविधिक अल्पज्ञानका कारणले नै आयोजनाहरूका काम प्रभावकारी र तिव्रताका साथ हुन नसकेको कोष अधिकारीहरू बताउँछन् ।
अर्यालको ७ पुसमा अवकाश हुनेछ । तर, उनले कोषको कार्यकारी निर्देशकमा थमौति लिनका लागि वाइसीएलका पूर्व सदस्य तथा मन्त्री मगरसँग राम्रो सम्बन्ध भएका भाइकाजी घिमिरेलाई समातेका छन् । एक महिनाअघि नै विदा बस्नुपर्ने नियम भए पनि घिमिरेलाई भनेर शक्ति केन्द्र रिझाउन अर्याल सक्रिय रहेका छन् ।