आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी
ललितपुर । राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ ।
वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताए । कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास गर्न असहज भएको भन्दै उजुरी आइरहेको हो ।
पहिलेभन्दा अहिले आयोगमा उजुरी कम भए पनि आएका उजुरीको प्रकृति बदलिएको आयोगले जनाएको छ । द्धन्द्धकालमा जघन्य अपराधसम्बन्धी मात्रै उजुरी आउँथ्यो । नागरिकमा जघन्य अपराधमा बाहेक आफ्नो अधिकार हनन भएकामा सचेत थिएनन् । अहिले भने नागरिकमा सचेतना आउँदा वातावरण प्रदूषण, खाद्यान्नमा मिसावट, वैदेशिक रोगजारीमा देखिएका समस्यासम्बन्धी उजुरी आइरहेका छन् । उनले भने, “पहिलेभन्दा अहिले फरकफरक खालका उजुरी आइरहेको छ ।”
वातावरण प्रदूषणले नागरिकमा असर परेको भन्दै उजुरी आइरहँदा आयोगले सरकारलाई वातावरणमा प्रतिकूल असर नपर्ने गरेर उद्योग सञ्चालन गराउन सिफारिश गरेको छ । आयोगले सरकारलाई नियमित रूपमा अनुगमन र गल्ती भेटिँदा कारवाही गर्न सरकारलाई भनेको छ ।