साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, पहिलो खेल नेपाल र भुटानबीच
फाईल तस्विर
काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको तालिका अनुसार पहिलो खेलमा अर्थात् प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालले भुटानको सामना गर्नेछ ।
सोही दिन हुने दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमनेसामने हुनेछन् ।
दक्षिण एसियाका ७ राष्ट्र सहभागी हुने प्रतियोगितामा सहभागी देशलाई दुई समूहमा विभाजन गरिएको छ । यसपटकको प्रतियोगितामा आयोजक बनेको नेपाल टीमले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि कब्जा गर्ने दाउमा छ ।
प्रतियोगिता पहिलो पटक राजधानी बाहिर मोरङको विराटनगरमा हुन लागेको हो । समूह ए मा बगंलादेश, भुटान, पाकिस्तान र नेपाल छन् । समूह बी मा इण्डिया, श्रीलंका र मालदिभ्स छन् । विराटनगरको शहिद रगंशालामा हुने प्रतियोगिता आगामी मार्च १२ देखि २२ सम्म हुनेछ ।
सन् २०१० देखि सुरु भएको प्रतियोगितामा नेपाल यसअघिका ३ संस्करणमा फाइनल पुगेको थियो । सन् २०१६ मा भएको चौंथो संस्करणमा नेपाल सेमिफाइनल भन्दा अघि जान सकेन । पहिलेका चारै संस्करणको उपाधि भारतले जितेको छ ।