ए डिभिजन लिग : मनाङको अपराजित यात्रा कायमै
फाईल तस्विर
काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आफनो अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार भएको खेलमा मनाङले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेसँगै अपराजित यात्रा कायमै राखेको हो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतिष्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै गर्दै मनाङ्ले लिगमा आठौं जित हात पारेको छ ।
मनाङका लागि एकमात्र गोल विशाल राईले खेलको ३१औँ मिनेटमा गरेका थिए । जितसँगै मनाङले आठ खेलबाट २४ अङ्क जोडेको छ । आर्मी १७ अङ्कसहित चौथो स्थानमा यथावत छ ।
यता सातौँ चरणसम्म अपराजित रहेको आर्मी क्लब मनाङसँगको हारसँगै उपाधि होडमा कमजोर बनेको छ । मनाङविरुद्धको खेलमा आफना मुख्य तीन स्ट्राईकर भरत खवास, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठलाई मैदान उतारेपनि आर्मीले गोल गर्न सकेन ।
पहिलो हाफमा १–० गोलले पछि परेको आर्मीले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरे पनि गोल गर्न सकेन । आक्रामक देखिएको खेलमा आर्मीले एक पछि अर्को योजना बुनेपनि गोल गर्न भने सकेन । खेलको ४७ औँ मिनेटमा कप्तान भरत खवासको क्रसमा नवयुग श्रेष्ठले डि बक्सभित्रबाट गरेको हेड सिधै किपरको हातमा परेको थियो ।
जर्ज प्रिन्स कार्कीले ५३औँ मिनेटमा हानेको बल पोस्टको थोरै माथिबाट बाहिरिएको थियो । यस्तै ५८ औँ मिनेटमा दिनेश हेन्जनले हेडमार्फत मिलाइदिएको पासमा नवयुग गोल गर्न चुके ।
यता मनाङले समेत दोस्रो हाफमा अग्रता दोब्बर पार्ने थुप्रै मौका गुमायो । खेलको ६०आँै मिनेटमा कमल श्रेष्ठको क्रसमा अडिलाजाले गरेको हेड आर्मीका किपरले बचाएका थिए । यस्तै ६८आँै मिनेटमा मनाङका कप्तान विराज महर्जनको पासमा एडिलाजाको प्रहारलाई किपर बिट भएको अवस्थामा आर्मीका डिफेन्डर जितेन्द्र कार्कीले गोल हुनबाट बचाए भने ७६आँै मिनेटमा मनाङले अर्को गोल गर्ने मौका गुमायो । भिक्टोरले डि बक्सभित्रबाट प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो ।