मुख्य समाचार

पाल्पामा जिप दुर्घटनाः पाँचको मृत्यु, ४ जना घाइते

पाल्पामा जिप दुर्घटनाः पाँचको मृत्यु, ४ जना घाइते

पाल्पा । पाल्पाको जल्पाबाट बहादुरपुरतर्फ जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

 

मृत्यु हुनेहरुमा माथागढी गाउँपालिका वडा नंं ८ की ३३ वर्षीय यानिसर गाँहा, बुमाकुमारी दर्लामी,  रेवतबहादुर जि.सी. कुनिसरा रुचाल र जिपचालक २० वर्षीय वीरेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

 

दुर्घटनामा घाइते हुनेहरुमा माथाँगढी ८ कै ४० वर्षीय सुरेन्द्र मश्राङ्गी, ४० वर्षीय देव सिंह राना, २६ वर्षिया शान्ता रुचाल र उनकी ३ वर्षीया छोरी रहेको प्रहरीले जानकारी दिएको छ। 

 

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ। घाइतेमध्ये शान्ता रुचालको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

 

प्रहरीका अनुसार जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल खसेको थियो।  गएराति करीब १० बजे दुर्घटना भएको बताइएको छ ।  

 

रातिको समय, कच्ची सडक र दुर्घटनास्थल भीर भएका कारण ठूलो क्षति भएको पाल्पा प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम तानसेनबाट ६० किलोमिटर पूर्व दक्षिण रहेको छ। 

 

मृतकको शव पोष्टमार्टमका लागि  जिल्ला अस्पतालमा ल्याइएको छ। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

जिप दुर्घटना पाल्पा

विशेष