युरोपा लिगः चेल्सी बराबरीमा रोकियो, सेभिल्ला र भिल्लारियल नकआउट चरणमा प्रवेश
काठमाडौं । युरोपा लिग अन्र्तगत इंग्लिस क्लब चेल्सी मोल भिडीसँग बराबरीमा रोकिएको छ ।
बिहीबार राति भएको खेलमा चेल्सी मोल भिडीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । तर चेल्सी समूह एल को विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
चेल्सीका लागि खेलको ३०औं मिनेटमा विलियनले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३२औं मिनेटमा चेल्सीका इथान अम्पाडुले आत्मघाती गोल गर्न पुगेपछि मोल भिडीले १–१ गोलको बराबरी बनाएको थियो ।
मोल भिडीका लागि खेलको ५६ औं मिनेटमा लाईक नेगोले गोल गर्दै अग्रता दिलाए । मोल भिडीका अग्रतालाई बराबरी गर्ने क्रममा चेल्सीका लागि ओलिभर जिराउडले गोल गरे । उनले खेलको ७५ औं मिनेटमा गोल गर्दै दुई दुई गोलको बराबरी बनाए ।
चेल्सीले समूह एल मा ६ खेलबाट पाँच खेलमा जित र एक खेलमा बराबरी खेल्दै १६ अंक बनाएर समूह विजेता हुदै अन्तिम ३२ मा प्रवेश गरेको हो ।
यस्तै सेभिल्ला र भिल्लारियलले पनि आफना खेल जितेका छन् । सेभिल्लाले समूह चरणको अन्तिम खेलमा एफके क्रास्नोडरलाई ३–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै सेभिल्ला समूह जे को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
भिल्लारियल पनि समूह जी को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । भिल्लारियलले स्पार्टक मस्कोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।