व्यापार घाटालाई नकारात्मक रुपमा नलिन अर्थमन्त्रीको आग्रह
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन् ।
अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन सबैलाई आग्रह गरेका हुन् ।
उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्न बस्तुको आयातबाट आत्तिन नहुने बताँउदै मन्त्री खतिवडाले आफ्नो उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले नेपालले आयातमा अझै जोड दिनु परेको बताए ।
विश्व बैंक र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टले तयार पारेको ‘अ ग्लास हाफ फुल’ प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले नेपाल जस्तो मुलुकले अन्तरराष्ट्रिय बजारमा माग हुने बस्तुहरु उत्पादन गरी बजारीकरणमा ध्यानदिनुपर्ने बताए ।
'अन्तरराष्ट्रिय बजारमा के कस्ता वस्तुहरु माग भएका छन् , त्यसको अध्ययन गर्ने र उत्पादनमा जोड दिनुपर्छ अनि त्यसपश्चयात बजारीकरण गर्नुपर्छ', उनले भने ।
अर्थमन्त्री खतिवडाले नेपालले आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएको पनि बताए ।
उनले दक्षिण एसियामा एउटै देशको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रको व्यापार पारस्पारिक हुन नसक्ने तर्क पनि गरे ।
यस्तै सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा व्यापार घाटा बढ्दै गएको उल्लेख गरिएको छ ।