अमेरिकामामसेत सुरक्षित छैनन् नेपाली
न्यूयोर्क । केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको ‘सुनोको ग्यास स्टेसन’मा कार्यरत ४० वर्षीय रेशम बजगाईंको हत्या भयो।
लुटेराहरूको समूहले टाउकोमा धारिलो हतियार प्रहार गरी बजगार्इंको हत्या गरेका थिए। ६ वर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो।
भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि गोली प्रहार भयो।
स्थानीय ‘बडिज ह्यान्डी मार्ट ग्यास स्टेसन’मा दिउँसो सवा १२ बजे काला जातिका एक लुटेरा आएर अन्धाधुन्ध बन्दुक चलाउँदा श्रेष्ठमाथि आठ गोली लाग्यो।
पिठ्यूँ, पाखुरा, गाला, पेट, कम्मर र मुटुको तल्लो भागमा गोली लागेकी उनी उपचारपछि घर फर्किएकी छिन्। साढे दुई वर्षको छोरा र श्रीमान्सहित उनी पनि ११ महिनाअघि मात्रै अमेरिका आएकी थिइन्।
जनवरीमा टेक्सासको ब्रोडवे ब्लुबर्डनजिकै ग्यास स्टेसनमा काम गर्ने ३५ वर्षीय मनीष पाण्डेको हत्या भयो। मध्यराति स्टोरमा काम गरिरहेका बेला लुटेराहरू छिरेर उनीमाथि अन्धाधुन्द गोली चलाएका थिए।
तीन महिनाअघि मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा ४१ वर्षीया बृन्दा गिरीको मत्यु भयो। घटनामा गिरीसहित अन्य तीन जनाको ज्यान गएको थियो। दुई सन्तानलाई लिएर उनी ६ महिनाअघि मात्र अमेरिका आएकी थिइन्।
सन् २०१८ मा मात्र अमेरिकामा बसोवास गर्ने नेपालीमाथि भएका जघन्य हिंसाका घटना हुन् यी। ग्यास स्टेसन र स्टोरमा काम गर्नेहरूले सामान्य गाली र ज्यान मार्नेसम्मका धम्की पाउनु यहाँ सामान्य जस्तै हो।
हिंसामा पर्नेमा नेपाली मात्र भने छैनन्। गरिब र निम्न आय भएका मुलुकबाट आएका सबै आप्रवासीको नियति हो यो। अमेरिकामा काम नगरी बाँच्न सम्भव छैन।
भर्खरै आएकाहरू, अन्य सीप नभएका र अंग्रेजी भाषामा दख्खल नभएकाहरू ग्यास स्टेसन तथा स्टोरहरूमै काम गर्न बाध्य हुन्छन्।
तुलनात्मक रूपमा बढी जोखिम पनि यिनै क्षेत्रमा छ। अमेरिकामा ग्यास स्टेसनमा पेट्रोल, डिजेलसहित चिया, कफी, चिसो पेयपदार्थ, चुरोट, सामान्य खाजा एवं एटीएम मेसिनलगायत उपलब्ध हुन्छ।
परिवारको सुनौलो भविष्यको सपना बोकेर अमेरिका आउनेहरूको जीवन हिंसाका घटनाले उजाड बनाइदिने क्रम बढ्नुलाई यहाँको प्रशासनले प्रमुख चुनौती मानेको छ।
विशेषगरी साना नानी लिएर आएका दम्पतीमध्ये एकको मृत्यु भए त्यो परिवारको दुःख बयान गरिनसक्नु हुन्छ। छोराछोरी साना हुनेहरूले अमेरिकामा पालो गरेर बच्चा हेर्ने र काम गर्दै गर्छन्।
श्रीमान् काम सकेर फर्किएपछि बालबच्चा जिम्मा लगाएर श्रीमती काममा निस्किन्छिन्। यसरी चलिरहेको परिवारमा एक जनालाई केही हुनेबित्तिकै अर्को व्यक्ति पनि काममा जानै सक्दैन।
छोराछोरीलाई ‘डे केयर सेन्टर’मा राखेर काम गर्नु सामान्य आय हुनेहरूका लागि पहुँचबाहिरको कुरा हो। यसले परिवारको दैनिकी गुजारामै गम्भीर आर्थिक समस्या निम्त्याउँछ।
अमेरिकामा यस्ता हिंसापीडितले राज्यबाट सहयोग पाउने व्यवस्था छैन। ‘कुनै दुर्घटनामा मानवीय क्षति भए अमेरिकी सरकारले यति रकम क्षतिपूर्ति दिन्छ भन्ने प्रावधान छैन,’ भर्जिनिया र ओक्लोहमा घटनामा पीडितलाई सहयोग जुटाउन सक्रिय गुणराज लुइँटेलले भने, ‘प्रत्येक घटनाको प्रकृति हेरेर थोरै केही सुविधा दिन सक्छ। तर त्यो लिन पनि सहज छैन।’
मृतकको काम अस्थायी वा स्थायी भन्ने विषयले पनि निकै फरक पार्छ। घटनाको प्रकृति कस्तो छ भन्ने विषयमा अनुसन्धान हुन्छ।
स्थानीय प्रहरी प्रशासन, काउन्टी र सरकारले सुरक्षा दिन नसकेको अवस्था ठहर भए मृतक परिवारलाई काजकिरियाका लागि निःशुल्क ठाउँ उपलब्ध गराउने, कतिपय अवस्थामा न्यूनतम काजकिरिया खर्चसम्म पाउन सक्ने व्यवस्था रहेको लुइँटेलले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।