स्वास्थ्य

१४ लाख नागरिक स्वास्थ्य बिमामा आवद्ध

१४ लाख नागरिक स्वास्थ्य बिमामा आवद्ध

काठमाडौं । आमनागरिकलाई स्वास्थ्य बिमामा समावेश गर्ने भनिएको कार्यक्रम कछुवा गतिमा अघि बढेको छ ।

 

सरकारले २५ चैत २०७२ देखि कैलालीबाट कार्यक्रम सुरु गरेको थियो । २०७७ सालभित्र आमनागरिकलाई स्वास्थ्य बिमा गरिसक्ने सरकारको लक्ष्य छ ।

 

तर, हालसम्म कुल जनसंख्याको ३.४० प्रतिशत अर्थात् १४ लाखले मात्रै स्वास्थ्य बिमा गराएका छन् ।

 

सरकारले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच पुर्याउने लक्ष्यसाथ बिमा कार्यक्रम लागू गरे पनि त्यसबारे अधिकांश अझै बेखबर छन् ।

 

 

अहिलेसम्म ३६ जिल्लाका १४ लाख नागरिक स्वास्थ्य बिमाबाट सूचीकृत भएको स्वास्थ्य बिमा बोर्ड अध्यक्ष डा. उमाशंकर यादवले जानकारी दिए । जसका कारण निकै न्यून संख्यामा नागरिक बिमित छन् ।

 

 

जिल्लाको संख्या बढे पनि बिमित संख्या उल्लेखनीय देखिएको छैन । जनचेतना अभाव, बिमा कार्यक्रमबारे चासो नदेखाइँदा पनि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।

 

 

हरेक नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन २०७२ मा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको थियो । सो कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

 

स्वास्थ्य बिमा दर्ता गरिए बिरामी भएको व्यक्तिले ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइनेछ ।

 

बोर्ड अध्यक्ष डा. यादवका अनुसार कार्यक्रम लागू गरिएका जिल्लामा ३ सय कर्मचारी खटाइएको छ । उनले जिल्ला तहमा कर्मचारी खटाइएको जानकारी पनि दिए । ती कर्मचारी घरदैलोमा आउँछन् ।

 

 

दर्ता सहयोगीले फोटो खिच्छन् । परिवारको स्पष्ट विवरण लेखिन्छ । बिमित हुन २ हजार ५ सय तिर्नुपर्छ । स्वास्थ्य बिमा परिचयपत्र केही दिनमा उपलब्ध भएपछि बिरामीले ५० हजार रुपैयाँसम्म निःशुल्क सेवा पाउने उनले बताए ।

 

लगत्तै थप ११ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए ।

 

‘भौगोलिक विकटताका कारण कतिपय स्थानमा जान सकेका छैनन्,’ उनले भने ‘तर, हामी स्वास्थ्य बिमा कार्यक्रम दीर्घकालीन योजना बनाएर अगाडि बनाएर अघि बढेका छौं ।’

 

पाँच जनाको परिवार भएको एक घरका लागि २ हजार ५ सय र पाँच जनाभन्दा बढी परिवार भएको घरमा प्रतिव्यक्ति ४२५ थप दस्तुर लिई स्वास्थ्य बिमा दर्ता गरिएको छ । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

स्वास्थ्य बिमा

विशेष