मुख्य समाचार स्वास्थ्य

सरकारको आग्रह पछि डा. केसीको भोलिबाट हुने अनशन स्थगित

सरकारको आग्रह पछि डा. केसीको भोलिबाट हुने अनशन स्थगित

काठमाडौं ।  डा. गोविन्द केसीले मंगलबारदेखि बस्ने भएिको अनशन स्थगित गरी पुस १७ गतेदेखि अनशन बस्ने भएका छन् । 


डा केसीले दिएको समयसीमा सकिनु एक दिनअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसारनै माग पूरा गर्ने प्रतिवद्धता जनाउँदै केही दिन कुर्न आग्रह गरेकी छिन् । 

केसीले घर्तीका सहयोगी डा. अभिशेष सिंहलाई फोन गरेर चिकित्सा शिक्षा विधेयकका लागि केही दिन दिन आग्रह गरेकी हुन् । 

केसी पनि आफ्नो माग सम्बोधन हुने हो भने केही दिन सरकारको निणर्य कुर्न तयार देखिएका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् । 


यसअघि आफ्नो माग पुरा नभए पुस तीन गतेबाट पुनःअनशन बस्ने बताएका डा केसीले आफूले यसअघि दिएको अल्टिमेटम सकिन एक दिन बाँकी हुँदा संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापती जयपुरी घर्तीले सम्झौता अनुसार नै माग पूरा गर्ने  बताउँदै अहिले संसद सुरु नभएको अवस्थामा केही दिन कुर्न आग्रह गरेपछि आफूले अनशनको समय सारेको बताएका छन् ।


उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'यसैबीच संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट विधेयकलाई अघि बढाउन केही दिन समय लाग्ने भन्ने जानकारी हुन आएकाले सम्झौताबमोजिम विधेयक अघि बढाउन समितिलाई सहज होस् भनेर तथा हामीले राखेका बाँकी मागहरुसमेत पूरा गर्न स्मरण गराउँदै हामीले घोषित सत्याग्रहलाई  दुई साताले पछि सारेका छौं । यसबीच विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुई पल्ट जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताहरुभन्दा प्रतिकुल हुने गरी चलखेल भएमा कुनै पनि बेला सत्याग्रह शुरु हुने जानकारी गराउँछौं । साथै हामीले यही मंसीर ११ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लिखित सबै मागहरु पूरा नभएको खण्डमा यही पौष १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने जानकारी गराउछौँ।' गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्नेलगायतका माग केसीका रहेका छन्। निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्नु पर्ने उनले आफ्नो मागमा उल्लेख गर्दै आएका छन्।  गत  असार १६ गते १५ औँ अनशन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए। पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। डा. केसीको १५ औं अनशन २७ दिनमा तोडिएको थियो।  बढ्दो उमेर र पटकपटकको अनशले गर्दा उनको स्वास्थ्य अवस्थासमेत विग्रदै गएको छ।  
 

विशेष