म्यानचेस्टर युनाइटेडका प्रशिक्षकबाट मोउरिन्हो बाहिरिए
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ । मोउरिन्होको नेतृत्वमा रहेको युनाइटेडले जारी लिगमा निकै खराब प्रदर्शन गरेको छ ।
क्लबले विज्ञप्ति निकाल्दै मोउरिन्हो क्लबको प्रशिक्षकमा नरहेको जनाएको हो । क्लबको अन्तरिम प्रशिक्षकको टुंगो चाँडै लगाउने क्लबले जनाएको छ ।
५५ वर्षका प्रशिक्षक मोउरिन्होलाई युनाइटेडले साढे दुई वर्षपछि बर्खास्त गरेको छ ।
युनाइटेडको प्रिमियर लिगको इतिहासमा पछिल्लो २८ वर्षमा सबैभन्दा खराव नतिजा भनेको मोउरिन्होले क्लब सम्हालेपछि देखिएको थियो ।
क्लबले ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्धका लागि टिमसँग राम्रोसँग सल्लाह नगरेको पनि आरोप लगाएको छ ।
प्रशिक्षक मोउरिन्हो युरोपियन क्लबका सफल प्रशिक्षक मानिने भए पनि पछिल्लो पटक उनको सफलता क्रमबद्ध रुपमा खस्कँदै गएको थियो । सन्काहा प्रवृतिका मानिएका मोउरिन्होले युनाइटेडमा आएर लिग कप, युरोपा लिगको उपाधि दिलाएका थिए । तर प्रिमियर लिगमा निकै खराब प्रदर्शन गरेको उसले आइतबार लिभरपुलविरुद्ध तीन–एकको हार ब्यहोरेको थियो ।
हारका कारण लिगमा टिम १९ अंकका साथ छैटौ स्थानमा रहेको छ । क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका कारण मोउरिन्होले २२ दशमलव ५ मिलियन पाउण्ड रकम पाउने भएका छन् ।
युनाइटेडको प्रशिक्षकका लागि रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान र माउरिसीयो पोचिटिनोको नाम चर्चामा रहेको छ ।