बामदेव गौतम विधि मान्ने नेता हुन्, ओली होइनन् (भिडियोसहित)
सरकारले न्याय दिन्छ भनेर नै निर्मला हत्याकाण्ड यस्तो चर्चित भयो
मेठमणि चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । नेकपाका यि सांसद माधवकुमार नेपालनिकट मानिन्छन् । क्रिष्चियनहरुलाई चर्च बनाउन सांसद कोषबाट १० लाख रुपैयाँ दिएपछि विवादमा आएका चौधरीले अबको पाँच वर्षमा मुलुक युरोपजस्तो हुने दावी गरेका छन् । देशमा भ्रष्टाचार नियन्त्रण भएको र मुलुक आर्थिक समृद्धितर्फ छलाङ मारेको उनले उल्लेख गरे । सरकारले न्याय दिन सक्छ भन्ने थाहा पाएर नै निर्मला पन्त हत्याकाण्डको विषय यति धेरै उचालिएको उनले अनौठो तर्क पनि पेश गरेका छन् । प्रस्तुत छ चौधरीसँग गरिएको कुराकानीमा उनले व्यक्त गरेका धारणा उनकै शैलीमाः
‘चुनावी अभियानको क्रममा मैले गरेका वाचाहरुलाई जिम्मेवारीपूर्ण ढंगबाट निर्वाह गर्दै जाने तयारीमा अहिले म लागेको छु । मैले मेरो क्षेत्रमा रहेका खर तथा बाबियोको छाना भएको घरमा टीनको छाना र ५० हजार बराबरको गाई वा भैंसी दिने वाचा गरेको थिएँ । जुन प्रतिवद्धता मैले पुरा गर्दैछु । उक्त कार्यक्रमलाई मैले मन्त्रिपरिषद्बाट निर्णय गराई राष्ट्रिय कार्यक्रममा पार्न सफल भएको छु । यसबाट दाङ क्षेत्र नं १ का स्थानीयहरु वर्षामा घरमा चिसो हुने र गर्मीमा आगलागी हुनु बाट जोगिने छन् ।
म आफैं संयोजक बनेको उक्त योजनाको हाल कार्यविधि बनेको छ । भवन डिभिजन कार्यालयका सदस्य सचिव, जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा गाँउपालिकाका कर्मचारीहरु उक्त योजनाका सदस्य भएका छन् । हाल सर्भे शुरु भइसकेको छ । टीनको छाना तथा ५० हजार बराबरको गाई भैंसी साथै गोबर ग्यास समेतको निर्माण गर्ने योजना छ भने अन्य समस्या समाधान गर्दै जानेछु ।
यस्तै पिछडिएका तथा दलित जातीहरुको बस्तीसमेत निर्माण गरिनेछ । कमलरी, कुमा, थारु लगायतका जातीका लागि जातअनुसारको स्थानीय मोडल बस्ती निर्माण गर्नेछु ।
राप्ती नदी दाङका विभिन्न क्षेत्रका लागि हाल अभिषाप भइरहेको अवस्थामा नदीलाई वरदान साबित गर्नुपर्ने जिम्मेवारी मैमाथि छ । राप्तीको दुईतर्फी किनारामा तीनवर्ष भित्रमा तटबन्ध बनाई सुरक्षाको प्रबन्ध गर्नु अति आवश्यक छ । अर्थात् भालुवाङदेखि पश्चिम क्षेत्रसम्म रहेको राप्तीको किनारामा तटबन्ध निर्माण गर्नु छ । यसका लागि मैले दशैं तिहारको बिदाको समयमा सम्पूर्ण सरकारी अधिकारीहरुलाई मेरो निर्वाचन क्षेत्रमा लगेर त्यहाँको समस्याको बारेमा जानकारी गराएको छु ।
यस्तै राष्ट्रपति चुरे, अन्य वृहत योजना सम्पन्न गर्नका लागि तयारीमा म निरन्तर लागिरहेको छु । मेरो निर्वाचन क्षेत्रमा जति पनि समस्या देखिएको छ त्यसको समधानको लागि जनप्रतिनिधिहरुसँग छलफल गरी एउटा मास्टर डिजाइन गरी स्थानीय तहमा पुग्नेछु ।
हो, क्रिष्चियनलाई पनि १० लाख दिएँ
मैले क्रिष्चियनलाई १० लाख दिएँ भन्ने कुरा त आयो तर मैले सबै धर्मलाई समान व्यवहार गरेको हो । क्रिश्चियनलाई मात्रै पैसा दिएको अरोप पूर्णरुपमा गलत हो । उनले भने, हाम्रो संविधानअनुसार निरपेक्ष समाज भनेर व्याख्या गरेको छ । त्यसैले नेपाली नागरिकले आफू खुशी जूनसुकै धर्म मान्न सक्छन् । १२२ जातजातीका मानिस, १२० भाषा बोल्ने र १० भन्दा बढी धर्म मान्ने मानिसहरुमा एउटा धर्म मान्नेलाई मात्र पैसा दिएको भन्नु गलत आरोप हो । सत्य के हो भने निरपेक्ष समाज भएको हुदाँ मैले क्रिश्चियन मात्र नभएर हिन्दु, इस्लाम लगायत अन्य धर्म मान्नेलाई पनि पैसा दिएको हुँ ।
हामी नयाँ भवन निर्माण गर्दैै छौं ,जहाँ हिन्दु, क्रिश्चियन, इस्लाम सबै धर्मका लागि प्रयोग गर्न मिल्नेछ । त्यहाँ वाईफाईको समेत व्यवस्था हुनेछ । त्यसैले क्रिश्चियलाई मात्र मैले रकम दिएको भन्ने म माथि लागेको आरोप, मेरो बदनाम गर्ने उद्देश्यले गरेको थियो तर मलाई भने फाइदा पुगेको छ, सांसद चौधरीले भने । विभिन्न धर्मालम्बीहरु आएर मलाई तपाईले सबै धर्मलाई समान रुपमा हेर्नु भएकोमा खुशी लागेको भनेर मलाई धन्यवाद दिन्छन् त्यसैले यो अरोपले मलाई बेफाइदा भन्दा फाइदा भएको छ ।
अबको पाँच वर्षमा नेपाल युरोपको जस्तो देश हुनेछ
७८४ वटा स्थानीय निकायमा विकासका काम भइरहेको छ जसले अबको पाँच वर्ष भित्र मुलुक युरोपेली मुलुक सरह बन्नेमा ढुक्क छु ।
कम्युनिष्टको तर्फबाट असन्तुष्ट व्यक्त किन गर्नुपर्छ । एमालेको दुईतिहाई सांसद सहितको सरकार बनेको छ, प्रधानमन्त्री नेकपाका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । तर सरकार पिछडिएका, दलित वर्ग जाती समुदायको समस्या समाधानतर्फ ध्यान दिएको छैन । कम्युनिष्ट पार्टी तथा कम्युनिष्ट सरकार भनेको पिछडिएका, दलित गरिबहरुको पार्टी हो । अर्को कुरा भनेको कम्युनिष्ट पार्टीले सदैव सबै जनता (कुल्ली, किसान, सुकुम्बासी, मोही ,ड्राइभर आदि) सुख पाउनु पर्छ भन्छ तर पार्टी तथा सरकारले सुख दिन सकेको छैन । हाल मुलुकको जंगल वा जमिनमा बस्नेलाई कम्युनिष्ट सरकारले मनोवैज्ञानिक रुपमा मुलुकमा सरकार छ भन्ने प्रभाव पार्न सफल भएको छ त्यो भन्दा बढी केही गर्न सकेको छैन ।
सरकार बनेको नौ दश महिनामा सैद्धान्तिक रुपमा सरकार छ भन्ने भयो तर जनताका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकेको छैन, सांसद चौधरीले भने, अब पुस १५ गतेदेखि संसद अधिवेशन चल्छ ,सोहि समयमा कानुन बनाएर सरकार अघि बढ्नु पर्छ ।
हाल १ लाख ९६ हजार हेक्टर जंगलको जमिनमा मानिसको बसोबास रहेको छ सरकारले उक्त जमिनको स्वामित्व जनतालाई दिनुपर्छ ।
सांसद चौधरीले आफनो निर्वाचन क्षेत्र पूर्वकालकाटी धानखोला, भालुवाङ, लमी , डमी नरटे लगायतका क्षेत्रमा बसेका स्थानीयहरुको नाममा जमिनको स्वामित्व नभएको छैन । स्वामित्व त्यहाँका स्थानीयलाई दिनुपर्ने पर्छ । उनले पञ्चायतकालमा बाढीपीडितको नाममा दिइएको उक्त जमिनपछि जंगलको नाममा गरिएको भन्दै चाँडै नै स्वामित्व जनतालाई दिने बताए । त्यसैले सरकारबाट सन्तुष्ट हुने ठाँउ पनि छ छैन पनि उनले भने ।
अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रण गरेको छ । अहिले त २५ सय भ्रष्टाचार गरेको छ भने पनि कारबाही हुन्छ । निलम्बनसमेत हुन्छ ।
वामदेव गौतम विधिसम्मतअगाडि बढ्ने नेता हुन्
वर्तमान सरकारले कुनै पनि मन्त्री हटाउने तयारी गरेको छैन । जसका कारण सरकार आलोचनाको सिकार भएको छ । सरकार भन्दा महत्वपूर्ण कम्युनिष्ट पार्टी हो । पार्टीअनुसार सरकार चल्नुपर्छ । पार्टी तर्फ भने अध्यक्षयद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड गुटका नेताहरु विधिबिना नै अघि बढ्न खोजेका छन् भने माधव नेपाल , झलनाथ खनाल, वामदेव गौतम गुटका नेताहरु भने विधि निर्माण गरी अघि बढ्ने पक्षमा देखिएका छन् ।
विधि बनाएर जाँदा तल्लो तहका नेतारुको असुन्तष्टिहरु माथिल्लो तहका नेतासम्म पुग्छ तर विधि नहुदाँ यो सम्भव छैन । विधि निर्माण गर्दा अस्तिको जस्तो बालुवाटारमा पार्टीको बैठक बस्ने छैन । जसले गर्दा सरकारलाई आर्थिक भार पर्न जान्छ । अध्यक्ष ओली अस्वस्थ्य हुनु भयो पार्टी र ओलीवंशको बैठक बालुवाटारमा गर्नुभयो जसले सरकारलाई आर्थिक भारपर्छ भने पार्टीमा पनि गुट देखापर्न सक्छ ।
सरकारले न्याय दिन्छ भनेर नै निर्मला हत्याकाण्ड यस्तो चर्चित भयो
निर्मला काण्डमा भने सरकारले कामकारबाही अघि बढाउने क्रममा प्रहरीका उच्च अधिकारीहरुलाई समेत निलम्बन गरेको छ । यस्ता घटना पहिला पनि भएको थियो । निर्मला हत्याकाण्डमा अपराधी पक्राउ पर्छ, राज्यले न्याय दिन्छ भनेर नै यो विषय यति धेरै बाहिर आएको हो ।’