नेपालमा भारतीय नोट प्रतिबन्धले भारतीय मिडियामा हलचल
काठमाडौं । सरकारले भारतीय रुपैयाँ ९भारु०का नोटमाथि प्रतिबन्ध लगाउने घोषणाले भारतीय मिडियामा हलचल मच्चिएको छ । सरकार भारु २००, ५०० र हजार दरका नोटमाथि नेपालमा प्रतिबन्ध लगाएपछि भारतीय मिडियाले चासोसहित लेखहरू छापेका छन् । गत साता सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त दरका भारु नोट नेपालमा चलनचल्ती गर्नु अवैध हुने निर्णय गरेको थियो ।
नेपालले भारतीय नोटमाथिको प्रतिबन्धको कुनै कारण नखुलाएपनि भारतीय भिडियाले आफ्ने अर्थ लगाएर कारण निकाल्ने प्रयास गरेका छन् । धेरै जसो भारतीय मिडियाले नेपालले १०० भन्दा माथिका नोटमा प्रतिबन्ध लगाउनुको कारण २०१६ मा भारतले नोट बन्दी गर्दा नेपालमा रहेको भारतीय नोट सटही नगरिदिएको प्रति प्रतिशोध साँझ्न भनेका छन् ।
यसै विषयलाई लिएर बिबिसी हिन्दी संस्करणले एउटा लामै लेख प्रकाशन गरेको छ । बिबिसीले आफ्नो लेखको सारमा प्रतिशोध साँध्न नेपालले भारतीय नोटमा प्रतिबन्ध लगाएको भन्ने नै उल्लेख गरेको छ । लेखको सारमा दुई वर्ष अगाडि भारतले नोट बन्दी गर्दा नेपालमा रहेका भारु नोट भारत सरकारले सटही नगरिदिएपछि त्यसैको प्रतिशोधमा अहिले भारु प्रतिबन्ध गरेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकले भारतीय नोटमाथिको प्रतिबन्धको कारणमा भनेको छ, 'सन् २०१६ नोबेम्बर ८ मा भारतीय सरकारले नोटबन्दीको घोषणा गर्यो । त्यसबेला नेपालमा धेरैमात्रामा ५०० र १००० भारतीय रुपैयाँका पुराना नोट थिए । भारतले सटही नगर्दा ती नोटहरू नेपालमै अट्किए । जसका कारण नेपालले अहिले यी नोटहरूलाई प्रयोग गर्न रोक लगाएको हो ।'
साथै बिबिसी, आजतकलगायतका मिडियाले नोटमाथिको प्रतिबन्धको असर नेपालबाट भारतमा काम गर्न जाने कामदारमाथि पर्ने पनि उल्लेख गरेका छन् । लेखहरुमा सरकारले गरेको निर्णय कार्यान्वयमा आउनेमा पनि आशंका व्यक्त गरिएको छ । बिबिसी हिन्दीमा लेखिएको छ, ‘नेपालले अचानक भारु प्रतिबन्ध लगाउनुको कुनै कारण खोलेको छैन् । यसको असर सर्वसाधारणलाई पर्नेछ । दुवै देशमा रोजगारीमा जाने, व्यापार व्यवसाय गर्ने र अन्य कामको सिलसिलामा एक अर्को देशमा जानेहरुलाई समस्या पर्ने छ ।’
बिबिसीले इतिहासका बारेमा बताउँदै लेखमा सन् १९९९ मा भारतीय विमान नेपालबाट अपहरण भएपछि भारत सरकारको आग्रहमा नेपालले भारु ५०० र सन् २०१४ सम्म ५०० र १००० दरका नोट नेपालमा प्रतिबन्ध गरिएको थियो । २०१५ मा यो प्रतिबन्ध हटेको बताएको छ ।
सन् २०१६ नोभेम्बर ८ मा भारतले नोटबन्दी गरेपछि नेपालमा रहेको करोडौं भारु भारतले साट्न मानेको छैन् । भारतले दुई वर्ष अगाडि गरेको नोटबन्दीका कारण नेपाल र भुटानमा रहेको करोडौं भारु नोट अहिलेसम्म साटिएको छैन् । नेपालमा भारतीय मुद्रा प्रचलन गर्न पाइने गरी अहिलेसम्म नेपाल भारतबीच कुनै सम्झौता भएको छैन् । यहि कानुनी अड्चनका कारण भारतले नेपालमा रहेको भारु नोट साट्न नमानेको बताइन्छ ।
सन् २०१५ मा भारतले अघोषित रूपमा गरेको नाकाबन्दीका कारण दुवै देशको विग्रिएको सम्बन्ध र भरोसा अझै सुध्रिन सकेको छैन । बिबिसीले आफ्नो लेखमा नेपाल एउटा भूपरिवेष्ठित देश भएकाले भारतसँगको आफ्नो निर्भरता कम गर्न चाहिरहेको पनि बताइएको छ । भारतीय मिडियाका लेखहरूले खुला सीमाना, खुला व्यापार, एकै जस्तो धर्म र रितीरिवाजका बीच बिग्रिरहेको सम्बन्धमा उत्तरी छिमेकी राष्ट्र चीनको भूमिका बारे पनि सोच्नु पर्ने सुझाएइका छन् ।