काभ्रेमा प्रहरीचौकी स्थापना
काठमाडौं । काभ्रेको मण्डन देउपुर नगरपालिका–२ अट्टेडाँडामा प्रहरीचौकी स्थापना गरिएको छ । स्थानीयको सुरक्षा र समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले प्रहरीचौकी बनाएको हो ।
यस्तै पर्यटकीयस्थल नगरकोट, नाल्दुम तथा बालुवापाटी देउपुरको समग्र समस्या र सुरक्षाको लागि नगरका अन्य प्रमुख स्थानमा समेत प्रहरीचौकी स्थापना गर्ने नगरपालिकाको तयारी छ ।
प्रहरीचौकीका लागि भवन, आवश्यक पर्ने फर्निचर, एक थान मोटरसाइकल तथा खाना पकाउन आवश्यक भाँडाकुँडासमेत व्यवस्थापन गरिएको छ ।
यसअघि यहाँका स्थानीयवासीलाई सुरक्षासम्बन्धी काम गर्नुपर्दा करीब १० किलोमिटरको दूरीमा रहेका नाला वा हिगुवापाटी प्रहरीचौकी धाउनुपर्ने बाध्यता थियो ।
बुधबार आयोजित चौकी हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काको समेत उपस्थिति थियो ।