आरजुको खातिरदारी गर्न नजाँदा जापानको जनसंपर्क समिति नै खारेज
काठमाडौं । यता काठमाडौंमा महासमितिको बैठक चलिरहँदा उता जापानमा बसोबास गर्ने नेपाली कांग्रेससम्बद्ध व्यक्तिहरु भने दुःखी बन्न पुगेका छन् । कांग्रेसको केन्द्रीय कार्यालयले जापानस्थित कांग्रेसको जनसंपर्क समितिलाई लेखेको एउटा पत्रका कारण त्यहाँका कांग्रेस कार्यकर्ताहरु दुःखी बनेका हुन् ।
सम्पर्क समितिको कार्यकाल पूरा हुनुभन्दा दुई दिनअघि केन्द्रीय कार्यालयलाई पत्र लेखी समितिले दुई महिना म्याद थप गर्न डिसेम्बर १ तारेखमा पत्राचार गरेको थियो । जनवरी २०१९ को २७ तारेखमा अधिवेशन गर्ने मितिसमेत तय भइसकेको अवस्थामा जनसम्पर्क समिति जापानको कार्यकाल सकिएको भन्दै कुनै कामकारबाही नगर्न कांग्रेस केन्द्रीय कार्यलयले जापानमा पत्र पठाएको छ । यसरी पत्र पठाएपछि त्यहाँ जनसम्पर्क समितिले बैधानिकता गुमाएको छ ।
यतिबेला जापानमा सभापति शेरबहादुर देउवाले किन त्यसप्रकारको पत्र लेख्न निर्देशन दिए भन्ने विषयमा विभिन्न अनुमान गर्न थालिएको छ । केही समयअघि देउवापत्नी आरजु राणा जापान गएको बेला जनसम्पर्क समितिका पदाधिकारीहरु उनलाई भेट्न नगएकोले सम्पर्क समितिको म्याद थप नगर्न पत्राचार गरिएको ठहर जापानबासी कांग्रेस कार्यकर्ताले गरेका छन् ।
यो समाचार घटना र विचार साप्ताहिकबाट लिएका हौं ।