खेल

एभरेष्ट प्रिमियर लिगः चितवन र भैरहवा भिड्दै

एभरेष्ट प्रिमियर लिगः चितवन र भैरहवा भिड्दै

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत बुधबार इलिमिनेटरमा चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्स भिड्दै छन् । 

 

दिउँसो एक बजे हुने खेलको विजेताले काठमाडौं किंग्स् इलेभेनसँग दोस्रो इलिमिनेटर खेल्ने मौका पाउनेछ ।

 

लिग चरणमा मात्र दुई खेल जितेर चितवनले इलिमिनेटरमा स्थान बनाएको थियो ।

 

अन्तिम खेलमा विराटनगर वारियर्स काठमाडौंसँग पराजित भएपछि रनरेटमा अघि रहँदै चितवन शीर्ष चारभित्र रहँदै इलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो । 

 

लिग चरणमा चितवन भैरहवा ग्लाडियटर्ससँग १२ रनले पराजित भएको थियो । लिग चरणका अन्य खेलमा चितवन ललितपुर प्याट्रियोट्सँग ११ रनले र काठमाडौंसँग ६ विकेटले पराजित भएको थियो ।

 

समूहको अन्तिम दुई खेलमा विराटनगरलाई पाँच रनले र पोखरालाई सात विकेटले हराएपछि चितवनले नाटकीय रुपमा नकआउट चरणको यात्रा तय गरेको थियो ।

 

भैरहवाले भने सुरुकै तीन खेल जित्दै शीर्ष चारभित्र स्थान बनाउन सफल भएको थियो । पहिलो तीन खेलमा भैरहवाले पोखरालाई चार विकेटले हराएको थियो ।

 

जुन खेलमा उसले २१६ रनको लक्ष्य पनि प्राप्त गरेको थियो । उसका रवि इन्दर सिंहले शतकीय योगदान दिएका थिए ।

 

त्यसपछि चितवनलाई हराएको भैरहवाले विराटनगरमाथि चार विकेटको जित दर्ता गरेको थियो ।

 

त्यसपछिका दुई खेलमा भने भैरहवा ललितपुर र काठमाडौंसँग पराजित भएको थियो ।

एभरेष्ट प्रिमियर लिग चितवन टाइगर्स भैरहवा ग्लाडियटर्स

विशेष