कभर स्टोरी भिडियो

सांगीतिक क्षेत्रमा ‘न्यू कमर’हरुलाई पहिला पनि गाह्रो थियो, छ र हुनेछ (भिडियोसहित) 

हिट हुन राम्रै ब्यानर चाहिने रहेछ 

सांगीतिक क्षेत्रमा ‘न्यू कमर’हरुलाई पहिला पनि गाह्रो थियो, छ र हुनेछ (भिडियोसहित) 

काठमाडौं । ‘लाठी चार्ज नगर’, ‘सम्धीज्यू सम्धीज्यू वार्ता गराईदिउँ’ बोलेका हिट गीतहरुबाट चिनिएका गायक रामचन्द्र काफ्लेका पछिल्ला गीतहरु  ‘साइबा हो साइबा’, ‘खेलौंला देउडा’ ‘बग्ने खोला बगीगो’ जस्ता गीतहरु चर्चामा छन् । कुनै समय आफ्नो स्वरमा कोही गिनेचुनेका संगीतकारको ध्यान परिदिए हुन्थ्यो भन्दै संघर्ष गर्ने दिन पनि थिए गायक काफ्लेका । फिल्मी, लोक तथा आधुनिक गरेर उनले तीन हजारसम्म गीत गाइसकेको बताउँछन् । 

 

संगीतमा लाग्नुु पहिला उनी शास्त्रीय संगीतका विद्यार्थी थिए । शुरूमा आफ्नै लगानीमा गीत रेकर्ड गराए । भन्छन्, ‘संगीतको विद्यार्थी भएका कारण मुडी स्वभावको थिएँ । कसैले आफ्नो गीत रेकर्ड गराउन चाहेन भने पनि आफ्नै  लगानीमा गर्छु भन्ने भाव आउँथ्यो । कतिपय गीत त अरूले नगरिदिएको र आफूूले नसकेको खण्डमा त्यस्सै थन्कियो पनि । त्यहीँ क्रममा लाखौं रूपैयाँ पनि सकियो ।’

 

उनलाई दर्शकमाझ ‘मनकी रानी’ नामक एल्बमले खुब चिनायो । त्यो समय धेरै मिडिया थिएनन् । ‘माउथ पब्लिसिटी’ले नै रामचन्द्र काफ्ले भनेर दर्शकमाझ चिनिने मौका पाए उनले । त्यसपछि भने उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । संगीत क्यारियरको ढोका एकपछि अर्को गर्दै खुुल्दै थिए । त्यही एल्बमकै कारण पहिलोपटक विदेश भ्रमण स्वरूप कतार जाने मौका  पाए उनले । त्यसपछि उनलाई आफू राम्रै गायक भएको आत्मविश्वास बढ्न थाल्यो । संगीतको कारण अहिलेसम्म नेपाली पुगेका प्रायः सबै देश घुमिसके उनले । ‘तर, अमेरिका जान बाँकी छ’, उनले सुनाए । 

">

कुनै पनि गायक चर्चामा आउन राम्रो ब्यानरको महत्वपूर्ण भूमिका हुने उनी बताउछन् । उनको हकमा पनि त्यस्तै नै भयो । धेरै गीत गाए पनि उनले चर्चा कमाइहाल्न सकेका थिएनन् । अर्जुन पोख्रेलको शब्द संगीत रहेको ‘परिचय पाउँ’ (साइबा हो साइबा) बोलको गीतले उनलाई दर्शकमाझ झनै बढी चिनायो । 

 

सुमधुर गीतमा आवाज भर्ने चाहना हरेक गायकको हुन्छ । गायक काफ्लेलाई पनि त्यो चाहना हुँदो रहेछ । भन्छन्, ‘हिट भएका गीतहरु सुन्दा त्यो गीतमा मेरो आवाज भइदिएको भए यस्तो सुनिन्थ्यो होला भन्ने कल्पना गर्छु । एक गायक हुनुको नाताले राम्रा गीतमा स्वर भर्न पाएँ हुने थियो भन्ने सबैमा हुन्छ । राम्रा संगीतकारहरुले मलाई पनि सम्झिनु हुन्छ, तर सम्झिन बाँकीहरुले किन सम्झनु भएको छैन होला भन्ने जिज्ञासा मनमा आउँछ ।’ 

 

काफ्लेले नेपाली संगीत क्षेत्रमा करिब २० वर्ष बिताइसकेका छन् । आउँदो दिनमा नयाँ अनुहारहरूलाई हुने कठिनाइबारे आफ्ना भोगाइ साट्दै उनले भने, ‘नयाँ मान्छे आउन सजिलो त हुँदैन नै । यो क्षेत्रमा नयाँ मान्छेलाई हिजो पनि सजिलो थिएन, छैन र भोलिको दिनमा पनि हुँदैन ।’

 

छिटै चर्चामा आएर टिक्न नसक्नु भन्दा ढिलो चर्चामा आएर आफूलाई संगीतमा टिकाउन सक्नुमा विश्वास राख्छन् उनी । भन्छन्, ‘दर्शकमाझ आएपछि कसरी टिक्ने भन्ने कुरा आफूमा भरपर्छ । तर यो खुबीमात्र भएर पनि पुग्दैन । धैर्य पनि हुनुपर्छ र निरन्तरता दिन सक्नुपर्छ । चर्चामा आइन भनेर निराश हुने हो भने काम छैन । ढिलो चाँडो हुन्छ भन्ने आशाले आफूलाई निखार्ने हो भने टिक्न सकिन्छ ।’ 

 

राम्रो गायकी र कला हुँदा पनि सुरूवाती दिनमा धेरै वेवास्ता गर्दा उनको मन दुख्थ्यो । त्यही दुुखाईबाट नै इख पलायो । केही गर्ने र आफूलाई पुष्टि गर्ने इख । आफूमा पनि केही खुबी छ भन्ने दृढ आत्मविश्वास थियो उनमा । आज त्यही आत्मविश्वासले नै उनी गायक रामचन्द्र काफ्ले भएका छन् ।

उनको बुझाइमा संगीत मानिसको दुःख भगाउने एक शक्तिशाली अस्त्र हो । भन्छन्, ‘जिन्दगीमा सुख दुःख त परि नै रहन्छ । तर संगीतसँग यस्तो शक्ति छ, यसले अनावश्यक तवनावलाई मेटाइदिन्छ । संगीत भित्र छिर्न सक्नुपर्छ ।’

 

विशेष