अध्यादेशका ६ वटा विषयमा असहमति जनाँउदै कर्मचारीद्वारा मन्त्रालय घेराउ
काठमाडौं । कर्मचारी समायोजनलाई स्वेच्छिक बनाउन माग गर्दै निजामती कर्मचारीको एक समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् ।
संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सरकारी सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अघि बढाउन माग गदैं उनीहरुले मन्त्रालय घेराउन गरेका छन् ।
पीडित निजामती कर्मचारीको नाममा मुख्यसचिव लोकदर्शन रेग्मीलाई बुझाइएको ज्ञापनपत्रमा समायोजन स्वेच्छिक बनाउन माग गरिएको हो । ‘समायोजनमा जान नचाहने कर्मचारीलाई संघमा पुल दरबन्दी कायम गरी निश्चित मापदण्डका आधारमा प्रदेश र स्थानीय तहमा कामकाज गर्न खटाउने व्यवस्था गरियोस’ ज्ञापनपत्रमा भनिएको छ ।
समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको संघमा निश्चित मापदण्डको आधारमा संघमा बढुवा वा सरुवा हुन नपाउने व्यवस्था रहेकाले त्यसलाई सच्याउनुपर्ने कर्मचारीहरुको माग छ ।आन्दोलनरत कर्मचारीले आफ्ना माग सम्बोधन नभएसम्म हरेक दिन सामान्य प्रशासन मन्त्रालय घेराउ गर्ने बताएका छन्।
अध्यादेशका ६ वटा विषयमा उनीहरूको असहमति छ। निजामती कर्मचारी समायोजन स्वेच्छिक बनाइयोस्। समायोजनमा जान नचाहने कर्मचारीलाई संघमा पुल दरबन्दी कायम गरी निश्चित मापदण्डका आधारमा प्रदेश र स्थानीय तहमा कामकाज गर्न खटाउने व्यवस्था गरियोस्।
यसअघि मंसिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ जारी गरेकी थिइन्।