समाज

विद्यार्थीले टायरमात्रै बाल्दैनन्ः नेविसंघ रचनात्मक अभियानमा

विद्यार्थीले टायरमात्रै बाल्दैनन्ः नेविसंघ रचनात्मक अभियानमा

काठमाडौं ।  स्वच्छ वातावरणका लागि ‘मास्क मुभमेन्ट’ चलाएको नेपाल विद्यार्थी संघले विहीबार काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुुझाएको छ । तीन हजार भन्दा बढिको संख्यामा विद्यार्थीहरू यो अभियानमा जोडिएका थिए । अभियन्ताले महानगर उपप्रमुख हरिप्रभा खड्गीलाई ज्ञापनपत्र बुझायो । 

 

स्वच्छ वातावरणका लागि हरित सहरको परिकल्पना अभियानले गरेको छ । यसैले पनि ¥यालीमा सहभागी भएका कतिपय विद्यार्थीले रूखका चित्र अनुहारमा टाँसेका थिए । वातावरणमैत्री नारा र प्रदुषण नियन्त्रणका उपायसहितका जानकारी लेखिएका कपडा लगाएका थिए । 

अभियानमा सहभागी रहेका विद्यार्थी नेता तथा अभियन्ता मनिष सिम्खडा भन्छन्,‘हामीले यो अभियान निक्कै लामो समयदेखि चलाएका थियौं । अहिले महानगरको ध्यान आकर्षण गराउनका लागि ज्ञापनपत्र बुझाएका हौं ।’

 

नेपाल विद्यार्थी संघको झन्डा पनि देखिएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको थियो । तर, यो कुनै राजनीतिक र्‍याली नभएर वातावरण प्रदुषणविरुद्धको अभियान थियो ।  

 

यो अभियान लामो समयदेखि नेवि संघका केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा चलेको थियो । काठमाडौंका प्रायः सबै क्याम्पस र कलेजमा अभियान चलाइसकिएको थियो । 

 

‘वातावरणीय प्रदूषणका कारण काठमाडौंमा बाँच्न नै कठिन भइसकेको छ । यसमा महानगरपालिकाले ध्यान दिएको पाइएन, दबाबका लागि कार्यक्रम गरेका हौं’, त्रिपाठी भन्छन्,‘स्थानीय सरकारको दायित्वमा पर्ने काममा किन ढिलाई गरिएको हो ? स्वच्छ काठमाडौंको नाराले मात्र पुग्दैन ।’ 

वायु प्रदूषणको प्रभाव स्वास्थ्यमा मात्रै सीमित छैन । यसको नकारात्मक असर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत परिरहेको छ । पर्यटक आगमन, सडक तथा हवाई आवागमन, शहरी सुन्दरतादेखि बसाइँसराइमा समेत प्रदूषणले प्रभाव पारिरहेका कारण सांकेतिक रूपमा मास्क मुभमेन्ट गरिएको त्रिपाठीले बताए । 

 

काठमाडौंमा प्रदूषण ज्यादा भएका कारण नै पर्यटन व्यवसायीहरू सकेसम्म धूलो कम भएको मौसममा पर्यटक बोलाउँछन् । फागुन, चैत र वैशाखमा धूलोकै कारणले पर्यटक कम आउँछन् । 

 

र्‍यालीमा काठमाडौंका विभिन्न क्याम्पस, कलेजलगायत शैक्षिक संस्थामा रहेका विद्यार्थीको उपस्थिति थियो । उनीहरू वातावरण प्रदुषण नियन्त्रणका उपाय सम्बन्धी तुल र प्लेकार्डसहित महानगरपालिका पुगेका थिए । 

 

उक्त अभियानमा नेवि संघका महामन्त्री कुन्दन काफ्लेसहितको अगुवाई थियो । 

विशेष