अर्थ देश

नेपाल-भारत सीमावर्ती शहरहरूमा प्रतिबन्धित भारु नोट छ्यापछ्याप्ती

'पहिला पनि चल्यो अहिले पनि चलेकै छ'

नेपाल-भारत सीमावर्ती शहरहरूमा प्रतिबन्धित भारु नोट छ्यापछ्याप्ती

काठमाडौं । सरकारले भारतीय ठूला नोटमा लगाएको प्रतिबन्धको असर नेपालका भारतसँग सीमा जोडिएका शहरहरूमा परेको छैन । नेपाली सीमावर्ती क्षेत्रमा नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँका दुई सय, पाँच सय र दुई हजारका नोटको किनबेच खुल्ला रुपमा चलिरहेको हो ।

 

पूर्वी नेपालको सीमावर्ती काँकडभिट्टामा ३१ वटा मनी चेन्जर काउन्टरहरूमध्ये प्रायःले अहिले पनि भारु किन्न आउने मान्छेलाई नेपालमा प्रतिबन्धित भारु ठूला नोटहरु नै बेचिरहेका बिबिसी नेपालीले जनाएको छ ।

 

नेपाल राष्ट्र बैंकको काउन्टरले भारु एकसय भन्दा माथिका नोटको कारोबार नगरेता पनि मुद्रा साट्ने निजी काउन्टरहरूको हकमा भने प्रतिबन्धको प्रावधान लागू नहुने मनी चेन्जर संघका अध्यक्ष विष्णु मैनाली बताउँछन् । उनी भन्छन्, 'पहिला पनि प्रतिबन्धित नोट किनबेच भएकै हो। अहिले पनि मन्त्रिपरिषद्ले निर्णय गर्‍यो। तर सीमा क्षेत्रमा त्यो लागु हुने स्थिति म देख्दिनँ।'

 

मुख्य भन्सार नाका रहेको सीमावर्ती शहर वीरगञ्जमा पनि मुद्रा साट्ने काउन्टरहरूमा निर्वाध रुपमा प्रतिबन्धित दुई सयभन्दा माथिका भारु नोटहरू किनबेच भइरहेका छन् । विराटनगरमा पनि त्यस्तो कारोबार निर्वाध चलिरहेकै छ। सरकारको यो प्रतिबन्धले सीमावर्ती क्षेत्रमा खासै अर्थ नराख्ने मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले बताए।

 

उनले भने, 'नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध छ। भारतबाट नेपाल घुम्न आउनेले साना नोट कसरी लिएर आउनु ? भारतमा काम गर्न जानेले पैसा ल्याउँदा एकसयका नोट ल्याउँदा अप्ठ्यारो भइहाल्छ नि।'
 

यस्तो प्रतिबन्ध योभन्दा अगाडि पनि लागेको थियो । तर त्यसबेला पनि प्रतिबन्धित नोटहरूको खुल्ला रूपमा कारोबार हुँदै आएका थिए ।
 

भारु

विशेष