एनआरटीको पहिलो जित, फ्रेन्ड्सद्धारा हिमालयन शेर्पा पराजित
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले पहिलो जित निकालेको छ ।
हलचोकस्थित एपीएफको खेल मैदानमा शुक्रबार भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २–१ गोलले हरायो ।
एनआरटीका लागि विदेशी खेलाडी कौसिस जिन र सुसिल लामाले गोल गरे । खेलको ३४ औं मिनेटमा जावलाखेलका रक्षकलाई छक्याउँदै जिनले गरेको गोलमा एनआरटीले अग्रता बनाएको हो । ५७औं मिनेटमा सुशील लामाको गोलबाट एनआरटीले अग्रता दोब्बर बनायो । लगत्तै एनआरटीका लागि सुमन डंगोलले गोल गरे पनि त्यो पर्याप्त हुन सकेन र खेल एनआरटीले २–१ गोलले गुमाउन पुग्यो ।
जितपछि ३ अंक जोडेको एनआरटी ४ अंकसहित लिगको पुछारमै छ । एन्फाले पहिलो पटक लिगमा रेलिगशनको प्रावधान हटाएपछि एनआटीले ‘बी’ डिभिजन लिगमा घटुवा हुनु पर्ने छैन ।
एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मीलाई २–२ को बराबरीमा रोक्नु बाहेक बाँकी ८ खेलमा पराजित भएको थियो । यता पराजित जावलाखेलको भने १० खेलबाट ८ अंक रहेको छ ।
शुक्रबार नै भएको अर्का खेलमा फेन्डस क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ गोल हराएको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा फ्रेन्डसको लागि जिवन गुरुङ र संजोग महर्जनले गोल गरे । गोहा पेट्रिकको आत्मघाती गोलमा हिमालयन शेर्पाले २७औं मिनेटमा अग्रता बनाएको थियो । तर त्यसको १ एक मिनेट वित्न नपाउँदै फ्रेन्डसका सन्जोग महर्जनले फोफना ब्राहिमको पासलाई सदुपयोग गर्दै बराबरी गोल फर्काए ।
खेलको ८१ औं मिनेटमा शेर्पाका खेलाडी आशिष गुरुङले दोस्रो पँहेलो कार्ड खाँदै बाहिरिए पछि शेर्पा दश खेलाडीमा सिमित भयो ।
दश खेलाडीमा सिमित शेर्पालाई दवावमा राख्ने क्रममा फे्रन्डसले खेल सकिन दुई मिनेट बाँकी रहँदा जिवन गुरुङको गोलमा जित निश्चित गर्यो ।
जितपछि ३ अंक बटुलेको फ्रेन्ड्स क्लब ८ अंकसहित ११औं स्थानमा छ । १४ अंक जोडेको हिमालयन शेर्पा छैटौं स्थानमा छ ।