मुख्य समाचार

दुई महिनामा मेलम्चीको पानी काठमाडौंमा आउने

दुई महिनामा मेलम्चीको पानी काठमाडौंमा आउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको टनेलमा दुई महिना पछि पानी छोडिने भएको छ । आइतबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले दुई महिनामा मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताए । 

 

 

बैठकमा सांसदहरले मेलम्ची आयोजनाको पानी काठमाडौंमा कहिले आउँछ भनी प्रश्न गरेका छन् । दशैंअघि आउँछ भनेको मेलम्चीको पानी अहिलेसम्म किन नआएको र कहिले आउँछ भनी प्रश्न गरेका हुन् ।

बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका हुन् ।उनले भने ,  ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी   आउँछ । ’ 

 

 

ठाकुरले अघि भने ‘हामीले सबै शक्ति केन्द्रित गरेर आयोजनाको काम गरिरहेका छौं । अहिले दैनिक ९० मिटरसम्म फिनिसिङको काम भैरहेको छ, सोहि गतिलाई कायम राख्न सकिए अबको ४० दिनमा टनेल फिनिसिङ हुन्छ ।’

 

 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबको दुई महिनामा पानी आउँछ भन्न सकिने अवस्था नरहेको बताए । यस्तै सांसद रामबहादुर विष्टले दशैं अघि आएछ भनिए पनि नआएको भन्दै अबको २ महिनामा आउँछ भन्नेमा पत्यार नभएको बताए ।

 

 

 

बैठकमा मन्त्री विना मगरलाई बोलाए पनि उनी उपस्थित थिइनन् । मन्त्री नआएकोमा पूर्वप्रधानमन्त्री खनालले आपत्ति जनाए । ‘यति महत्त्वपूर्ण छलफलमा मन्त्री नआनु दुखद हो’ उनले भने ।

सांसद राजेन्द्र राईले पनि मन्त्री मगर समिति बैठकमा नआएकोमा आपत्ति जनाए ।

विशेष