मुख्य समाचार

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त

काठमाडौँ ।  गुण्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि मनाङ्गे  बिहीबार थुनामुक्त भएका हुन् ।

ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।


गत मंसिर २८ गते सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र बम कुमार श्रेष्ठको संयुक्त इजिलासले मनाङ्गेलाई रिहा गर्ने आदेश दिएको थियो ।

दीपक मनाङ्गेको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । 

 

मनाङ्गेले पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १९४ बमोजिम तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दिएको हो ।

अदालती बन्दोबस्तको उक्त महल अनुसार सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएपछि उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म गुरुङ थुनामा बस्नुपर्ने छैन ।

गुरुङले सर्वोच्च अदालतमा २७ हजार ३ सय ७५ रुपैयाँ धरौटी बुझाएर मुद्दा पुनरावलोकनको निवेदन दिएका छन् ।
उनी गण्डकी प्रदेशका स्वतन्त्र सांसदसमेत हुन्। सांसदकाे सपथ भने लिएका छैनन्। 

विशेष