प्रवास

 नेपाली मजदुर मलेसियामा ३६ घन्टा काम गर्न बाध्य

 नेपाली मजदुर मलेसियामा ३६ घन्टा काम गर्न बाध्य

काठमाडौं । मलेसियाको एक कम्पनीले तीन सय नेपाली कामदारलाई लगातार ३६ घन्टासम्म काम गर्न बाध्य पारेको खुलेको छ ।

 

नेपालीलाई स्कुडाई जोहरबारुस्थित बिजिएस सेक्युरिटी एसडिएन बिएचडी कम्पनीले करिब तीन सय नेपाली कामदारलाई अमानवीय रूपमा काम गर्न बाध्य पारेको हो । समस्यामा परेका सबै कामदार सेक्युरिटी गार्डको काम गर्न गएका छन् ।

 

‘यहाँ हामी लगातार ३६ घण्टासम्म काम गर्न बाध्य छौं,’ बाँके घर भएका एक कामदारले भने, ‘काममा नगएर शारीरिक र मानसिक यातना सहनुपर्छ ।

 

नेपालमा गरिएको करारपत्रअनुसार पारिश्रमिक पनि पाएका छैनौं । उल्टै अनेक बहानामा तलबबाट रकम काटिन्छ ।’

 

बिजिएस सेक्युरिटी कम्पनीले अधिकांश नेपाली श्रमिकलाई दोहोरो करारपत्रमा हस्ताक्षर गर्न लगाएको उनले बताए ।

 

३५ जनासम्मको समूहमा बस्दै आएका आफूहरूले साप्ताहिक र सार्वजनिक विदा समेत नपाएको गुनासो गर्दै उनले घर फर्किन चाहे पनि अनुमति नपाएको बताए ।

 

सो कम्पनीमा रहेका अधिकांश नेपाली कामदारलाई ललितपुरको नाइस ओभरसिज र काठमाडौंको चप्पल कारखानास्थित जब स्पोट इन्टरनेशनलले पठाएका हुन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

मलेसिया  नेपाली मजदुर

विशेष