रियलले जित्यो क्लब विश्वकपको उपाधि
काठमाडौं । स्पेननिस क्लब रियल म्याड्रिडले फिफा क्लब विश्वकप २०१८ को उपाधि जितेको छ ।
संयुक्त अरव इमिरेट्स (युएई) मा शनिबार भएको फाइनल खेलमा रियलले युएईको अबु धाबीको अल इन क्लबलाई पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । यो सँगै रियलले क्लब विश्वकपको उपाधि तेस्रो पटक जित्दै ह्याट्रिक गरेको छ ।
खेलमा रियलले एक उपहार गोल सहित कुल ४ गोल गरेको थियो । उसका लागि लुका मोड्रिच, मार्कोस लोरेन्टे, सर्जियो रोमासले गोल गरे भने अल इनका लागि भने सान्त्वना गोल टुसुकासा सिटानीले गरे ।
खेलमा सुरुवाती अग्रता रियलले १४ औं मिनेटमा लियो । उसका लागि लुका मोड्रिचले गोल गरे ।
मोड्रिचले करिम बेन्जिमाको पासमा डी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
रियलका लागि मोड्रिचको यो १५ औं उपाधि हो भने फाइनलमा गोल गरेको भने यो पहिलो पटक हो।
खेलको ६० औं मिनेटमा मार्कोस लोरेन्टले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले २५ यार्ड टाढाबाट गरेको भली प्रहार गोल भयो ।
यस्तै सर्जियो रोमासले खेलको ७८औं मिनेटमा लुका मोड्रिचको पासमा अग्रता तेब्बर बनाए ।
अल इनका लागि खेलेको ८६औं मिनेटमा टुसुकासा सिटानीले गोल गरे । इन्जुरी समयमा याहिया नादिरको आत्मघाती गोलमा रियलको जित सहज हुन पुुग्यो ।
समग्रमा चौथो पटक क्लब विश्वकपको उपाधि जित्दै रियलले चारपटक सम्म क्लब विश्वकप जित्ने कीर्तिमान रचेको छ । रियलले फेयर प्ले अवार्ड पनि जित्यो ।
प्रतियोगिताको उत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडीको उपाधि रियलका ग्यारेथ बेलले जिते । बेलले दुई खेलमा तीन गोल गरेका थिए ।
सिल्भर बल अल इनका कैओले पाए । ब्रोन्ज बल रिभर प्लेटका सान्टोस बोरेले हात पारे ।