कभर स्टोरी

निगमको सम्पत्ति कौडीको भाउमा कुम्ल्याउने खेल शुरु 

निगमको सम्पत्ति कौडीको भाउमा कुम्ल्याउने खेल शुरु 

काठमाडौं । नेपाल वायु सेवा निगमलाई कम्पनी मोडलमा लैजाने तयारी शुरु भएको छ । 

 

निगमका अध्यक्ष मदन खरेलले टाट पल्टिएको संस्थानलाई कम्पनी मोडलमा सञ्चालन गर्न डिडिएका लागि एक उपसमिति गठन गरेका छन् । संस्थानको वर्तमान आर्थिक एवं प्राविधिक परीक्षण (डिडिए)का लागि अर्थविभागका कायममुकायम निर्देशक युवराज अधिकारी संयोजक रहेको छ सदस्यीय डिडिए सम्बन्धी उपसमिति गठन गरिएको छ ।

 

उपसमितिका सदस्यहरुमा अर्थ विभाग राजश्व महाशाखाका कामु उपनिर्देशक दीपेन्द्र सुवेदी, आर्थिक योजना तथा कर महाशाखाका कामु उपनिर्देशक अनिसा खड्का, अर्थकै कानून शाखा मानव संशाधन विभागका वरिष्ठ अधिकृत ललित सापकोटा, अर्थका अधिकृत तारणीराज दाहाल सदस्य छन् । संस्थागत विभागका कामु उपनिर्देशक प्रतिभा शर्मालाई सदस्य–सचिव तोकिएको छ । 

 

यो उपसमितिलाई डिडिए लागू गर्न परामर्शदाता नियुक्ति गर्ने कार्यक्षेत्र तयार गर्ने, स्वीकृतिका लागि पेश गर्ने, कार्यक्षेत्र मूल्यांकनको अंकभार तयार गर्ने जिम्मेवारी दिइएको छ । परामर्शदाता नियुक्त गर्न लागत अनुमान तयार गरी बजेट व्यवस्थापन स्वीकृत गर्न सिफारिस गर्नेलगायत काम पनि उपसमितिलाई सुम्पिइएको छ । 

 

मंसिर २५ मा गठन भएको यस उपसमितिले पुस १७ गतेसम्म आफ्नो काम सम्पन्न गरिसक्नु पर्ने छ ।

 

सरकारको  पूर्णस्वामीत्वमा रहेको संस्थानलाई कम्पनीमा लैजाने र नयाँसाझेदार भित्र्याउन यो प्रक्रियाले बाटो खोल्छ । निगम आर्थिक हिसाबले लगभग टाट पल्टिएको संस्थान हो । चीनमा निर्मित साना र मझौला ६ जहाज र युरोपमा निर्मित दुई वाइडबडी एअरबस भित्र्याएपछि पनि निगम अझै नोक्सानीमा छ । खरिद गरिएका जहाजहरुलाई उडाउन सक्ने क्षमता निगम व्यवस्थापनमा नहुँदा निगमका जहाजलाई घाम तपाएर राखिएको छ । 

२४ अर्ब रुपैयाँमा खरिद गरिएका दुई एअरबसले जापान, कोरिया र चीनमा उडान अनुमति पाएका छैनन् । यद्यपि चीन र कोरियाका जहाज नेपालमा भने दिनहुँ उडान गरिरहेकै छन् । 


चीनले नेपालका दुई नयाँ एअरबसलाई उडान अनुमति दिएको छैन । अर्कोतिर तिब्बती व्यापारीहरुको लगानी रहेको हिमालय एअरलाइन्सलाई पनि भारतले उडान अनुमति दिएको छैन । 

 

निगमलाई कम्पनी मोडलमा लैजाने र निगमको सेयर कौडीको भाउमा निजी क्षेत्रलाई दिने योजनाअनुसार नै यो प्रक्रिया थालिएको बताइन्छ । निगमको सेयर खरिद गर्ने तयारीमा हिमालयन एअरलाईन्सका नेपाली साझेदार आङछिरिङ शेर्पाको समूह रहेको बुझिएको छ । 

 

विदेशीको मनोमानी 

 

नेपालका तीनसहित अन्य मुलुकका २९ एअरलाईन्सहरुले नेपालमा उडान भर्छन् । नागरिक उड्डयन प्राधिकरणबाट अनुमति चाहिँ ३० वटाले लिएका छन् । 

 

चीनका पाँच एअरलाईन्सले नेपालमा उडान भर्दै आएका छन् ।  उडान भर्ने चिनियाँ एअरलाईन्सहरुमा एअर चाइना, चाइन स्टर्न एअरलाईन्स, चाइन साउदर्न एअरलाईन्स, टिबेट एअरलाइन्स र सिचवान एअरलाईन्स छन् । २७ कात्तिकमा चीनका पर्यटन तथा संस्कृति मन्त्री लुओ सुगाङ काठमाडौं आए । समकक्षी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बेइजिङ र ग्वान्जाओमा उडान अनुमति चीनले दिनु पर्ने माग राखे । चिनियाँ पक्षले आफ्ना पर्यटनमन्त्रीको ‘सद्भाव भ्रमण’ भनेर टा¥यो । नेपाली पक्षको तारन्तारका कारण चीनले हिमालयन एअरलाईन्सलाई चार्टड उडानको मात्रै अनुमति दिएको छ । 

 

विश्वका धेरै मुलुकमा अमान्य चीनमा निर्मित जहाज किनिदिएर नेपालले चीनलाई गुन नै लगाएको छ । चीनसँग खरिद गरिएका चारवटा साना जहाज विविध समस्याका कारण (वाइ १२ ई) नेपाल वायुसेवा निगमका लागि टाउको दुखाई भएको छ ।  अन्य दुई मझौला जहाज (एमए ६० )ले आन्तरिक उडान भर्दै आएका छन् । 

 

सबै मालामाल 

 

नेपाल गन्तब्य बनाउने सबैजसो अन्तर्राष्ट्रिय एअरलाईन्सहरुले नेपालमा मालामाल व्यापार गरिरहेका छन् ।  चीनले नै आफ्ना पाँच एअरलाईन्समार्फत नेपालमा उडान भर्दै आएको छ । नेपाल एअरलाईन्स, हिमालयन एअर र बुद्ध एअरसहित नेपालमा २९ वटा एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।  नेपालबाट पैसा लैजानेमा भुटानदेखि बंगलादेश, भारत जस्ता गरिब देशहरु मात्रै छैनन् ।

 

कोरियन एअर, हंङकङको क्याथे ड्रागन एअर, कुवेतको उतानिया, सिंगापुरको सिल्क एअर जस्ता एअरलाइन्सहरु  पनि छन् ।  भुटान जस्तो देशबाट समेत दुई एअरलाइन्सले नेपालमा उडान भर्छन् । नेपालमा उडान भर्ने सबै मालामाल छन् । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार भन्छन्, ‘संसारमा कतै नभएको नाफा नेपाल गन्तव्यमा विदेशी एअरलाइन्सहलाई छ । . अरु सबैले नेपालबाट कुम्ल्याएर नाफा लैजाने अनि हामीले भने भएको जहाज पनि उडाउन नपाउने स्थिति बनेको छ ।’ 

 

१ खर्बको व्यापार 


यतिबेला नेपाल वायुसेवा निगमले २ वटा वाइडबडी जहाज खरिद गरेको छ । त्यो जहाजले चीन, कोरिया, जापान र साउदीमा उडान गर्न पाएको छैन । जानकार स्रोतहरुका अनुसार चिनियाँ कम्पनीहरुले नै सेटिङ मिलाएर नेपाली जहाज विदेश उड्न नै नदिने चलखेल गरिरहेका छन् । नेपाल एअरलाईन्सले धमाधम विदेश उडान गर्न पाउने हो भने ती विदेशी एअरलाईन्सहरुको व्यापार साँघुरिनेमा कुनै शंका छैन । यति बेला विदेशी एअरलाइन्सहरुको मनोमानी कायम छ । जापानबाट अमेरिका जानु भन्दा नेपाल आउन तीन गुणा बढी भाडा लाग्नुको अर्थ नेपाल सबैका लागि लुट्ने गन्तब्य बनेको छ ।

 

नेपाल आउने विभिन्न विदेशी २६ एअरलाईन्सहरुको वार्षिक कारोबार १ खर्ब रहेको बताइन्छ । जसमा नेपाल वायु सेवा निगमको ७–८ अर्ब मात्रै छ । प्रमुख आयको ९० प्रतिशत लाभ त विदेशी एअरलाइन्सहरुले लिइरहेका छन् । नेपाल वायु सेवा निगमले नियमित उडान गर्न थाल्यो भने अन्यको आय कम हुन थाल्छ । यहि कारण नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नै छैनन्, हुँदै होइन, भाडामा हो जस्तो प्रचार पनि भइरहेका छन् । 

 

पर्यटनको विकासको कुरा गर्ने अनि ट्रेकिङमा आएका पर्यटकहरुलाई जानेरै बिरामी बनाउने र हेलिकोप्टर चार्टड गराएर काठमाडौंका सेटिङवाला अस्पतालमा लैजाने गरिन्छ । यो धन्दामा हेलिकोप्टर व्यवसायी–ट्रेकिङ कम्पनी–अस्पतालको नेक्सस स्पष्ट छ । यो नेक्ससमा रहेका केहीको मिडिया पनि छ । हेलिकोप्टर व्यवसायीको पोल खोल्ने र कारबाही प्रक्रिया अगाडि बढाउन थालेपछि उनीहरु पर्यटनमन्त्रीसँग रिसाएका छन् । स्रोत भन्छ, ‘त्यही कारण हो नेपाल वायु सेवाको जहाज चल्न दिनु हुँदैन भनेर लविङ भइरहेको । चीनसँग किनिएका जहाज पनि सुरक्षाको दृष्टिले जोखिमयुक्त होइन । प्रचार नै यसरी गरियो कि अरु चाइनिज सामान जस्तै हुन् चीनमा बनेका जहाज पनि । कुनै पनि बेला खस्न सक्छ झै गरी हल्ला गरियो । जुन साँचो होइन ।’
 

नेपाल वायु सेवा निगम हिमालयन एअरलाईन्स

विशेष