देश

सिरहामा बिहान भेटिएको बम सेनाद्धारा डिस्पोज 

सिरहामा  बिहान भेटिएको बम सेनाद्धारा डिस्पोज 

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको नेपाल टेलिकमको टावरनजिक आइतबार बिहान  प्रेसरकुकर बम  भेटिएको छ ।
 

चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको टोलीले उक्त प्रेसरकुकर बम आइतबार बिहान  ११ बजेतिर सुरक्षित डिस्पोज गरेको चोहर्वास्थित गणपति प्रमुख सेनानी गणेश भण्डारीले जानकारी दिएका छन् ।

गोलबजारको मानव बस्तीनजिकै टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ बिहान सबेरै बम भेटिएपछि स्थानीय बासिन्दा त्रासमा थिए।


बम भेटिएको जानकारी लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सो स्थानमा पुगेका थिए । उनीहरुले बम भएको स्थानबाट दुई सय मिटरको दूरीमा घेरा हालेर आवत जावत समेत बन्द गरी बम डिस्पोज गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।


उक्त ठाउँनजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा समेत भेटिएको थियो। मिति, छाप र हस्ताक्षर समेत नभएको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको र त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उल्लेख छ।


सशस्त्र समूहको नाममा विद्रोह शुरु गरी पैंसा संकलन गर्ने समूहले पर्चासँगै बम राखेको हुन सक्ने अनुमान गरिएको छ।

विशेष