नेपाल आइडलमा दोस्रो हुनु पनि अमूल्य उपलब्धि होः बिक्रम बराल
नेपाल आइडल
काठमाडौं । नेपाल आइडल सिजन–२ को फस्र्ट रनरअप बनेका बिक्रम बरालले आइडलको यात्रामा पाएका कुरा बाँडेका छन् ।
उनलाई कस्तो रह्यो आइडलको यात्रा रु यस्तो प्रश्न गर्दा जवाफ यसरी दिए– ‘नेपाल आइडलमा आएर मैले जीवनमा धेरै अमूल्य चिज प्राप्त गरेको छु। मेरो परिचय नै फेरियो। स्वदेश तथा विदेशमा मैले आफ्नै खालका फ्यान कमाएको छु।
यो मेरो अत्यन्तै ठूलो सम्पत्ति हो। यो सम्पत्तिको मलाई अत्यन्तै माया छ।’ नेपाल आइडलको हरेक कार्यक्रममा फरकफरक गीतमा उत्कृष्ट प्रस्तुति दिन सफल भए विक्रम।
उनले हरेक कार्यक्रममा भेरियसन दिन कोसिस गरेको बताए। कार्यक्रममा कहिल्यै नसुनेका गीतलाई पनि न्याय गर्ने निरन्तर मेहनत गरेको उनले बताए।
‘कतिपय गीतलाई आफ्नै शैली मिसाएर मोडिफाई नि गर्न सकिन्छ, मेरो फरकपन भनेकै यही हो’, अनुभवसँगैको आफ्नो आत्मविश्वास सुनाए उनले।
पुरस्कार पाएको रकम आफ्नो सांगीतिक विकास र घर परिवारका लागि खर्च गर्ने उनले बताए। पोखरामा लामो समय बारमा गीत गाइरहेका उनले बार गायकलाई सबैले हेपेको देखेका छन्।
उनलाई यो सम्झँदा अत्यन्त दुःख लाग्छ। नेपाल आइडलले दिएको सम्मान, इज्जत र माया समेट्दै स्रोताका लागि विशेष प्रकारको एल्बम निकाल्ने सोच रहेको उनले जानकारी दिए।
उनी लामो समयदेखि संगीत कर्ममै लागेका छन्। चितवन स्थायी घर भएका उनी हाल पोखरामा बसेर पढाइसँग सँगै सांगीतिक क्षेत्रमा काम गरिरहेका छन्।
संगीत सिक्ने र यही क्षेत्रमा केही विशेष गर्ने तिर्खाले उनलाई कहिले क्लासिक भोकल सिक्ने ठाउँमा पुर्यायो त कहिले गजल ब्यान्डमा। हाल उनी पोखराकै रक ब्यान्ड अडियो फर्ममा काम गरिरहेका छन्।
नेपाल आइडलमा सबैले मन पराएका प्रतियोगीका रूपमा आफ्नो परिचय बनाइसकेका छन्। नेपाल आइडल-१ मा पनि सहभागी भएका उनी मेगा अडिसनबाटै बाहिरिएका थिए।
जसरी पनि यही क्षेत्रमा राम्रो गर्नु छ भन्ने आत्मविश्वास राखेका उनकी आमाले पनि गीत गुनगुनाउने गर्छिन्।
उनले त्रिवेणी संगीतालयमा दुई वर्ष औपचारिक रूपमा क्लासिकल भोकल सिके। सुरुआतमा रक गीत गाउन मन पराउने विक्रम अहिले पप, क्लासिकल र सुगम संगीतका पारखी हुन्।
उनले पोखरा अडिसनमा ‘मर्न बरु गाह्रो हुन्न’ बोलको गीत गाएर गोल्डेन माइक जितेका थिए। उनकी आमा पनि संगीतको पारखी हुन्।
आमाबुवाको आशीर्वादले नै आफू यहाँसम्म आइपुगेको विश्वास गर्ने विक्रमनारायण गोपाल, गुलाम अली र अरुण थापाका फ्यान हुन्।
विक्रमले अहिले प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘प्रसाद’ मा पनि स्वर दिएका छन् । याे समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएकाे हाे ।